नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को नाममा डर त्रास देखाई रकम असुल्ने व्यक्ति पक्राउ


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को अधिवेशन हुन लागेको भन्दै आर्थिक सहयोग मागेर विभिन्न व्यवसायीलाई धम्कीपूर्ण फोन गर्ने तथा चन्दा आतङ्क फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका निवासी शम्भु प्रसाद जोशी रहेका छन्।

व्यवसायीहरूले आफूहरूलाई धम्कीपूर्ण फोन गरी आर्थिक सहयोग मागिएको भन्दै प्रहरी कार्यालयमा लिखित निवेदन दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले उनलाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको हो। पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।