काठमाडौं – भदौ १० गतेको बाढीले नेपालको पुँजी बजारलाई झल्काउँछ। किनकि नेपालको पुँजी बजारमा आइरहने आकस्मिक गिरावट पनि ‘फल्यास फ्लड’ भन्दा कम छैन। केवल तीनदेखि चार महिनाको अवधिमा शेयर बजारले ३०० अर्ब बराबरको बजार पुँजीकरण गुमाएको छ। दुई–तीन महिनाको अवधिमा यति ठुलो क्षति भइसकेको छ। यस्तो अवस्थामा ठुलो क्षति रोक्न सकिन्छ या सकिँदैन भने प्रश्न उठ्ने गर्छ। तर, पुँजी बजारको यस क्षतिलाई रोक्न सकिन्थ्यो। यसका लागि नेपालको पुँजी बजारको संरचनागत अवस्थालाई बुझ्न आवश्यक छ। नेपाली पुँजी बजारमा पर्याप्त वित्तीय उपकरणहरू छैनन्। बजारमा माग सिर्जना गर्ने संस्थागत सहभागीहरूको संख्या सीमित छ। बजार निगरानी तथा सुपरिवेक्षणको क्षमता पनि अझै पर्याप्त बलियो छैन।

पुँजी बजारलाई वास्तविक माग र आपूर्तिलाई प्रभावकारी रूपमा अवलोकन तथा व्यवस्थापन गर्नपर्छ। हामीसँग माग सिर्जना गर्ने उपकरण र संयन्त्रको संख्या अत्यन्त सीमित छ। त्यसैले संकटको समयमा बजारमा दबाब पर्दा त्यसलाई सन्तुलनमा ल्याउने पर्याप्त विकल्प हुँदैन। विकसित अन्तर्राष्ट्रिय पुँजी बजारहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ।विकसित बजारहरू पनि एकै दिनमा यहाँसम्म आइपुगेका होइनन्।
पटक–पटक संकटको सामना गरेर कमजोरी पहिचान गरी संरचनागत सुधार गरेर अहिलेको अवस्थामा पुगेका हुन्। सन् २०१९ मा भारतले पनि आफ्नै प्रकारको बजार संकटको सामना गरेको थियो। तर, भारतले संकटपछि सुधारका लागि लामो समय पर्खिएन। नियामकीय सुधारहरू अघि बढाएर विद्युतीय कारोबार प्रणालीलाई विस्तार गर्यो। त्यसपछि, डिम्याट प्रणालीलगायतका महत्वपूर्ण संरचनागत सुधारहरू गर्यो। त्यसको परिणामस्वरूप आज भारतको पुँजी बजार माथि पुगेको छ। आज भारतीय बजारको सूचकाङ्क करिब ७६ हजार ५१५ को स्तरमा रहेको अवस्थामा नेपालको बजार करिब २ हजार ५४२ को स्तरमा छ। तर, सूचकाङ्कको अङ्क मात्र तुलना गरेर हुँदैन। बजारको आकार, संरचना, अर्थतन्त्रको आकार र संस्थागत सहभागिता पनि हेर्नुपर्छ।
नेपालको पुँजी बजार अहिले कहाँ छ। नेपाल र भारतको पुँजी बजारमा ठुलो अन्तर रहेको छ। तर, यो अन्तरलाई केबल समस्याका रूपमा हेरिनु हुदैन्। यसलाई प्रतिकूल परिस्थिति रहेको अवसरका रूपमा हेरिनुपर्छ। नेपालको पुँजी बजारलाई कसरी अझ बलियो र सक्षम बनाउने भन्ने विषयमा लाग्नु पर्ने अवस्था छ। अहिलेको पुँजी बजारमा सबैभन्दा महत्त्वपूर्ण आवश्यकता नै सुपरिवेक्षण तथा निगरानी क्षमता विकास गर्नु हो। यसलाई विकल्पको विषय बनाइनु हुदैन्। यो तत्काल गर्नुपर्ने काम हो। बजारमा हुने अस्वाभाविक गतिविधि, जोखिम तथा प्रणालीगत समस्या समयमै पहिचान गर्न सक्ने गरी हाम्रो निगरानी प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउनुपर्छ। साथै, पुँजी बजारमा नयाँ र परिष्कृत वित्तीय उपकरणहरू विकास गर्न आवश्यक छ। लगानीकर्ताले केबल एउटै दिशामा मात्र ‘बेट’ गर्नुपर्ने अवस्था हुनु हुँदैन। बजारमा जोखिम व्यवस्थापन गर्न, जोखिम घटाउन र हेजिङ गर्न सकिने उपकरणहरू आवश्यक छ।

यदि लगानीकर्तासँग जोखिम व्यवस्थापन गर्ने पर्याप्त विकल्प भएनन् भने बजारमा अस्थिरता आउँदा सबैको प्रतिक्रिया एउटै दिशामा हुन सक्छ। त्यसैले विविध वित्तीय उपकरण नेपालको पुँजी बजारको अत्यावश्यक आवश्यकता हो। हामीले हाम्रो संस्थागत लगानीकर्ताको आधार व्यापक बनाउनुपर्छ। बजारलाई धान्न सक्ने, दीर्घकालीन रूपमा लगानी गर्न सक्ने र बजारको अस्थिरतालाई सन्तुलनमा राख्न सक्ने संस्थागत लगानीकर्ताको आधार पर्याप्त ठुलो हुनुपर्छ। यही आधार बलियो भयो भने मात्र हाम्रो बजार दिगो र संकट प्रतिरोधी बन्न सक्छ। नेपाली पुँजी बजारमा सुधारका विषयमा विभिन्न अध्ययन, श्वेतपत्र तथा सुझावहरू आएका छन्। ती अध्ययनहरूमा भविष्यमा बजार पुँजीकरणलाई उल्लेख्य रूपमा विस्तार गर्ने, नयाँ एसएमई कम्पनीहरूलाई सूचीकरणमा ल्याउने, सूचीबद्ध कम्पनीहरूको संख्या बढाउने, म्युचुअल फन्डको पहुँच विस्तार गर्ने तथा संस्थागत र विदेशी लगानीकर्ताको सहभागिता बढाउने विषयहरू उठाइएका छन्।
यदि म्युचुअल फन्डको पहुँचलाई कुल गार्हस्थ्य उत्पादनको तुलनामा करिब १.५ प्रतिशतबाट १० प्रतिशतसम्म पुर्याउने लक्ष्य राख्ने हो भने त्यो आफैँमा ठुलो अवसर हो। संस्थागत लगानीकर्ता र विदेशी लगानीकर्ताको सहभागिता बढाउने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ। अहिले हामीसँग स्थायी सरकार र नयाँ नेतृत्वबाट सुधारका लागि काम गर्ने अवसर छ। त्यसैले अहिले नै नीति, नियम, नयाँ वित्तीय उत्पादन र नयाँ संरचनाका विषयमा ठोस निर्णय गर्नुपर्नेछ। जसका लागि मर्चेन्ट बैंकर्स, नियामक निकाय र सम्बन्धित सम्पूर्ण सरोकारवालाहरू समन्वय गरी अघि बढ्नुपर्छ। छलफल गरेर मात्रै पुँजी बजार सुधार हुँदैन। त्यसले बजारमा संरचनागत परिवर्तन ल्याउनुपर्छ।
पुँजी बजारका पुराना नियमहरू पुनरावलोकन गर्नुपर्छ। आवश्यक ठाउँमा विद्यमान नियमन संशोधन गर्नुपर्छ। संरचनागत परिवर्तन गर्नुपर्छ। नयाँ वित्तीय उपकरण ल्याउनुपर्छ। नयाँ बजार पूर्वाधार निर्माण गर्नुपर्छ। किनकि यसअघि नै बनाइएका सबै नियम र उपकरणहरूले आज र भोलिको बजारलाई सम्बोधन गर्न सक्दैनन्। नेपालको पुँजी बजार बदलिएको छ, त्यसैले हाम्रो नियमन, पूर्वाधार र उपकरणहरू पनि बदलिनुपर्छ।
(नेपाल क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सत्रमा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीले राखेको मन्तव्यबाट)






About Us
प्रतिक्रिया