बाढीले क्षति पुर्‍याएको नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको सेवा सुचारु


 काठमाडौं – गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेटवर्कमा गम्भीर क्षति पुगे पनि पहिलो चरणको नेटवर्क पुनःसञ्चालन कार्य सम्पन्न भएको छ।

बाढीका कारण रसुवागढी र बेत्रावतीमा एक–एक वटा गरी दुईवटा अप्टिकल लाइन टर्मिनल, रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीनवटा गरी पाँचवटा फाइबर वितरण केन्द्रमा क्षति पुगेको थियो। साथै, करिब १२८ किलोमिटर हवाई अप्टिकल फाइबर केबल बगाएपछि उक्त क्षेत्रमा रहेका कुल १ हजार ५४४ वटा फाइबर टु द होम लाइन पूर्ण रूपमा प्रभावित भएका थिए।

विपद्‌लगत्तै प्राविधिक जनशक्ति तथा आवश्यक स्रोत–साधन परिचालन गरी मर्मत कार्यलाई तीव्रता दिइएको नेपाल टेलिकमले जनाएको छ। हालसम्म प्रभावित १ हजार ५४४ लाइनमध्ये १ हजार ९३ वटा लाइन पुनःसञ्चालनमा आएसँगै पहिलो चरणको सेवा पुनःस्थापना कार्य सम्पन्न भएको हो।

बाँकी प्रभावित लाइनहरू सम्बन्धित क्षेत्रको भौगोलिक तथा बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता र ग्राहकवर्गको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ। प्राकृतिक विपद्को यस विषम परिस्थितिमा सेवाग्राहीलाई यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पुर्‍याउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ। सेवा अवरुद्ध भएको अवधिमा सेवाग्राहीबाट प्राप्त धैर्यता र विश्वासका लागि नेपाल टेलिकमले हार्दिक आभार व्यक्त गरेको छ।