राज्य यतिबेला नागरिकको जीवनरक्षाका लागि ढाल बनेर उभिएको छः रवि लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सीमित स्रोतसाधन, स्रोतको अभाव र थकानका बाबजुद पनि नागरिकको जीवनरक्षाका लागि राज्य ढाल बनेर उभिएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको मैले सुनेको छु। राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ ? भनेर दृश्यसहित प्रष्ट्याउनु हो,’ उनले भने। सभापति लामिछानेले विपद्का कारण सिर्जित भग्नावशेष तथा सुरुङभित्र आफ्ना नागरिकको जीवन खोज्न राज्य सक्रिय रहेको बताए। त्यस्तै, सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका नागरिकको सहारा बन्न राज्य दिनरात खटिरहेको बताए।

उनले विपद्का कारण भत्किएका सडक र चुँडिएका पुल पुनर्निर्माण गर्नुका साथै विपद्का कारण टुटेको नागरिकको भरोसा जोड्ने प्रयाससमेत भइरहेको बताए। ‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छाहरी बन्न दिनरात खटिएको छ,’ उनले भने।

‘राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलमात्रै होइन, विपद्ले टुटाएका नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ,’ उनले भने।