काठमाडौं – नेपाली काँग्रेसका सभापति गगन थापाले गत भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। सभापति थापाले भदौ २३ गते अपराध गर्ने र भदौ २४ गते अपराध गर्ने दुवै पक्षलाई समान रूपमा कारबाही गर्नुपर्ने धारणा राखेका हुन्।
उनका अनुसार दुवै दिन भएका घटनामा संलग्नलाई कानुनअनुसार सजाय दिलाउन सके मात्रै राज्य जवाफदेही बन्ने बाटोमा अघि बढ्न सक्छ। ‘हामी हाम्रो ठाउँबाट प्रष्ट छौँ। भदौ २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ। २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ,’ थापाले भनेका छन्, ‘अनि मात्रै राज्य जवाफदेही राज्य बन्ने बाटोमा अगाडि बढ्न सक्छ।’
सभापति थापाले भदौ २४ गते आफ्नो घरमा समेत आगजनी भएको स्मरण गर्दै उक्त घटनाले आफू र आफ्नो परिवारलाई गम्भीर पीडा दिएको बताए। उनले आफ्नो परिवार झन्डै आगोमा परेको उल्लेख गरेका छन्। ‘भदौ २४ गते मेरो घर जल्यो। मेरो परिवार झन्डै त्यही आगोमा परेको थियो। मेरो मात्र होइन, त्यो दिन धेरैको घर जल्यो। धेरै सार्वजनिक सम्पत्तिहरू क्षणभरमै जलेर नष्ट भए,’ थापाले भनेका छन्।
उनले उक्त घटनाबाट घर तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिसँगै धेरै परिवारले दीर्घकालीन पीडा र नमेटिने घाउ बोकेको बताएका छन्। सभापति थापाले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।






About Us
प्रतिक्रिया