आईपीओ प्रणालीलाई ‘अटोमेसन’मा लग्दै सेबोन, अब पाइपलाइनका कम्पनीलाई ‘स्कोरकार्ड’


काठमाडौं – आईपीओ दिँदा पछिल्लो आर्थिक वर्षको वित्तीय विवरणका आधारमा प्रक्रिया अघि बढाइँदै आएको थियो। यसअघि आईपीओका लागि पेश भएका कम्पनीहरूको वित्तीय विवरण आर्थिक वर्ष २०८२/८३ भन्दा अघिल्लो आर्थिक वर्षसम्मका थिए। तर, आईपीओ स्वीकृत हुने बेलासम्म कम्पनीको वित्तीय अवस्था परिवर्तन भइसकेको हुन्छ। 

त्यसैले अब नियमअनुसार पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण आवश्यक पर्छ। अहिले हामीसँग पछिल्लो आर्थिक वर्षका विवरणहरू आउने क्रममा छन्। अहिले कम्पनीहरू अडिट हुने क्रममा छन्। यसै क्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओसम्बन्धी सम्पूर्ण जिम्मेवारी पुनः मर्चेन्ट बैंकरलाई दिएको छ। त्यसका लागि कम्पनीहरू सेबोनमा आउनुपर्दैन। कम्पनीहरूले आफ्नो बिक्री प्रबन्धक मर्चेन्ट बैंकरसँग सिधै जानुपर्छ। हामीले मर्चेन्ट बैंकसँग मात्रै सम्झौता गर्ने व्यवस्था गरेका छौँ।

सेबोनले वैशाख १ गतेदेखि ‘फाइनान्सियल ट्रिगर पोइन्ट्स’ अर्थात् वित्तीय विवरणमा के–के हेर्ने, आईपीओको अनुमति दिनुअघि के–के परीक्षण गर्ने भन्ने विषयमा वित्तीय विवरणसम्बन्धी विभिन्न ‘ट्रिगर पोइन्ट्स’ तोकेको छ। यो व्यवस्था लागू भइसकेको छ र त्यस विषयमा मर्चेन्ट बैंकरहरू पनि सचेत छन्।

सेबोनले यसअघि आईपीओका लागि आफ्नो ‘इन्टरनल प्रोसेसिङ स्ट्यान्डर्ड अपरेटिङ मेकानिजम’ विकास गरेको थिएन। त्यसलाई व्यवस्थित गर्न हामीले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर’ विकास गरेका छौँ। अहिले हामी त्यही ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर’ अन्तर्गत आईपीओका फाइलहरू स्क्रिनिङ गर्ने प्रक्रियामा छौँ। किनकि यसअघि फाइलहरूको चाङ हुने, तर के हेर्ने, कुन पक्षबाट हेर्ने, कुन फाइलबाट प्रक्रिया सुरु गर्ने र कुनबाट अन्त्य गर्ने भन्ने विषयमा कुनै स्ट्यान्डर्ड प्रोसीजर थिएन। अब हामीले त्यसलाई पनि पूरा गरिसकेका छौँ। त्यसका साथै अब हामीले आईपीओ प्रक्रियालाई ‘डिजिटलाइज’ गर्ने भनेका छौँ। त्यसअनुसार प्रक्रियालाई पनि डिजिटलाइज गरेका छौँ। अब बिक्री प्रबन्धकलाई आईपीओका लागि आवश्यक सम्पूर्ण विवरण तथा कागजात यही प्रणालीमार्फत पठाउन सकिने व्यवस्था गरिँदै छ। यसका लागि सेबोनको आइटी समूह तथा आईपीओ हेर्ने नियमन विभागहरू पनि मेहनतका साथ लागिरहेका छन्।

हामी आईपीओ प्रक्रियाका लागि सम्भव भएसम्म एक सातामा कुनै एउटा फाइलको ‘पाइलट टेस्टिङ’ गरेर अगाडि बढिरहेका छौँ। त्यसलाई पूर्णता दिएर बोर्डमा पेश गरिनेछ। त्यसपछि आईपीओको प्रक्रिया थप सहज हुन्छ। यसका लागि सूचीकृत भएका हाइड्रोपावर कम्पनीका धेरै फाइलहरू छन्। हामीले हाइड्रो, म्यानुफ्याक्चरिङ, होटेललगायत विभिन्न सेक्टरका लागि विशेष निर्देशिकाहरू पनि बनाइसकेका छौँ। साथै, आईपीओको योग्यतासम्बन्धी फारामहरू पनि तयार गरिसकेका छौँ। कागजातहरू सबै तयार छन्। अब त्यसको स्वामित्व सबैले लिँदै, त्यसमाथि छलफल गर्दै कार्यान्वयनको चरणमा लैजाँदै छौँ। आईपीओ प्रक्रियालाई अब अन्तिम चरणमा पुर्‍याउन मात्रै बाँकी छ। सम्भवतः एक–दुई हप्ताभित्र हामी आईपीओ प्रक्रिया अघि बढाउँछौँ। राम्रा कम्पनीहरू छानेर क्रमशः योग्य कम्पनीहरूको ‘स्कोरकार्ड’ पनि बनाएका छौँ। त्यसमा नम्बर दिइन्छ। तोकिएको अंकमा पास हुने कम्पनीहरू बजारमा आउँछन्। यस क्रममा असोज १५ भित्र धेरै कम्पनीको आईपीओ आउनेछन्।

(नेपाल क्यापिटल मार्केट डिस्कोर्सको डुओलगमा अध्यक्ष भट्टले व्यक्त गरेका विचारको सम्पादित अंश)