काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गाेपाल भट्टले नेपालको पूँजी बजारमा व्यापक रूपान्तरणको तयारी भइरहेको बताएका छन्। बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष भट्टले आगामी एक वर्षभित्र पूँजी बजारका विभिन्न क्षेत्रमा महत्वपूर्ण कामहरू हुने बताए।
अध्यक्ष भट्टले अहिले नेपालको पूँजी बजारलाई शेयर बजार र दोस्रो बजारमा हुने कारोबारमा मात्र सीमित गरेर बुझ्ने गरिएको भन्दै त्यसलाई व्यापक र आधुनिक बनाउने काम अघि बढाइएको बताए। उनका अनुसार पूँजी बजारको प्रमुख उद्देश्य पूँजी आवश्यक पर्ने क्षेत्र र लगानी गर्न चाहने क्षेत्रबीच प्रभावकारी रूपमा स्रोत परिचालन गर्नु हो। उद्योगी–व्यवसायी तथा सरकार पूँजीको आवश्यकता भएको ‘डेफिसिट सेक्टर’मा रहेकाले उनीहरूलाई बैंकिङ्ग प्रणालीमा मात्र निर्भर नराखी बजारमार्फत प्रत्यक्ष पूँजी जुटाउने वातावरण बनाउनुपर्ने उनले बताए।
बैंकमा मात्र निर्भर हुने अवस्था अन्त्य गर्नुपर्ने
अध्यक्ष भट्टले नेपालमा ऋण आवश्यक पर्दा बैंक तथा वित्तीय संस्थामा जाने अभ्यास बढी रहेको उल्लेख गर्दै बण्ड मार्केटलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए। ‘ऋण चाहियो भने बण्ड जारी गर्न सकिन्छ। तर हामी कहाँ ऋण चाहिनेबित्तिकै बैंकमै धाउने अभ्यास छ,’ उनले भने, ‘पूँजी बजारमा बण्ड मार्केटको ठूलो भूमिका हुन्छ।’ उनले स्वामित्व पूँजी आवश्यक पर्ने कम्पनीहरूले इक्विटी मार्केटमार्फत पूँजी जुटाउन सक्ने र ऋण आवश्यक पर्ने कम्पनीहरूले बण्ड मार्केटमार्फत स्रोत परिचालन गर्न सक्ने व्यवस्था बलियो बनाउनुपर्ने बताए।
प्राथमिक बजारमा ‘प्राइस डिस्कभरी’ मुख्य एजेन्डा
अध्यक्ष भट्टले आगामी सुधारको महत्वपूर्ण क्षेत्र प्राथमिक बजार रहेको बताए। कम्पनीले जारी गर्ने शेयर वा ऋणपत्रको वास्तविक मूल्य बजारबाटै पहिचान हुने प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार अहिले नेपालको प्राथमिक बजारमा धितोपत्रको उचित मूल्य निर्धारण तथा ‘प्राइस डिस्कभरी’को अभ्यास पर्याप्त रूपमा विकसित हुन सकेको छैन। त्यसलाई सुधार गर्न योग्य संस्थागत लगानीकर्ताको विकास गर्ने काम अघि बढाइएको उनले जानकारी दिए। ‘पूँजी बजारमा पूँजीको सही मूल्य निर्धारण हुनुपर्छ। हामी प्राथमिक बजारलाई त्यही दिशातर्फ लैजाँदैछौँ,’ उनले भने।
दोस्रो बजारलाई पनि नयाँ ढाँचामा लैजाने तयारी
अध्यक्ष भट्टले प्राथमिक बजारको विकासका लागि दोस्रो बजारको प्रभावकारी सञ्चालन अपरिहार्य रहेको बताए। दोस्रो बजारले प्राथमिक बजारमा जारी भएका शेयर, बण्ड तथा अन्य धितोपत्रलाई तरलता प्रदान गर्नुका साथै निरन्तर मूल्य पहिचानको काम गर्ने उनको भनाइ छ। नेपालमा दोस्रो बजारलाई हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुने कारोबार र शेयर बजार सूचकाङ्कको उतारचढावका रूपमा मात्र बुझ्ने गरिएको भन्दै उनले अब यसको पूर्वाधार र दृष्टिकोणमै परिवर्तन आवश्यक रहेको बताए।
स्टार्टअपदेखि ठूला उद्योगसम्मलाई बजारमा जोड्ने योजना
सेबोनले साना स्टार्टअप, साना तथा मझौला उद्यम (एसएमई) देखि ठूला उद्योगसम्मलाई पूँजी बजारसँग जोड्ने योजना अघि बढाएको उनले बताए। अध्यक्ष भट्टका अनुसार साना कम्पनीलाई छुट्टै प्लेटफर्ममार्फत पूँजी बजारमा प्रवेश गराउने, विस्तार हुँदै गएपछि योग्य कम्पनीलाई ‘मेन बोर्ड’मा ल्याउने र अन्तर्राष्ट्रिय स्तरसम्म कारोबार विस्तार गर्न सक्ने वातावरण तयार गर्ने लक्ष्य राखिएको छ। ‘उद्यमशीलताको हरेक चरणमा रहेका कम्पनीहरूले सोझै बजारबाट पूँजी सङ्कलन गर्न सकून् र लगानीकर्ताले आफ्नो जोखिम बहन क्षमताअनुसार विभिन्न वित्तीय औजारमा लगानी गर्न सकून् भन्ने उद्देश्यका साथ हामी अगाडि बढिरहेका छौँ,’ उनले भने।
धितोपत्र ऐन संशोधनमा सरकारलाई सहयोग
अध्यक्ष भट्टले धितोपत्र ऐन संशोधन तथा नयाँ कानुनी ढाँचा निर्माणका लागि सरकारलाई सहयोग गरिरहेको पनि बताए। यस विषयमा गहन रूपमा काम भइरहेको र केही समयभित्रै त्यसको परिणाम देखिने उनको दाबी छ। उनले पूँजी बजारको विकास केवल शेयर कारोबार विस्तार गर्ने विषय नभई देशको समग्र वित्तीय प्रणालीलाई थप प्रभावकारी बनाउने विषय भएको बताए।






About Us
प्रतिक्रिया