काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीमा परी निधन भएका भन्सार अधिकृत नवकुल शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै बाढीमा बेपत्ता १४ जना राष्ट्रसेवक कर्मचारीको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
सोमबार भन्सार विभागमा आयोजित श्रद्धाञ्जली तथा स्मरण सभामा सहभागी हुँदै अर्थमन्त्री वाग्लेले दिवंगत अधिकृत शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले बाढीमा बेपत्ता कर्मचारीहरू सकुशल फर्किएको खबर सुन्न आफू आतुर रहेको बताए।
कर्तव्यपालनका क्रममा ज्यान गुमाएका शर्माको परिवार तथा बेपत्ता कर्मचारीका परिवारप्रति दुःख व्यक्त गर्दै मन्त्री वाग्लेले सरकार, अर्थ मन्त्रालय र सम्बन्धित निकाय उनीहरूको दुःखमा साथमा रहेको बताए। शर्माको परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
सभामा अर्थ सचिव डा. घनश्याम उपाध्यायले शर्माको अभाव सधैँ खड्किरहने बताए। सरकारका लागि राजस्व संकलनमा खटिएका शर्मालाई ‘राजस्व सहिद’का रूपमा सम्मान गर्नुपर्ने उनको भनाइ थियो। सचिव उपाध्यायले बाढीमा परी सम्पर्कविहीन भएका १४ कर्मचारीको अवस्थाप्रति सरकार गम्भीर रहेको र उनीहरूको खोजी तथा अवस्था पहिचानका लागि आवश्यक पहल भइरहेको जानकारी दिए।
भन्सार विभागका महानिर्देशक यमलाल भुसालले मृतक कर्मचारीको अवस्था पहिचान तथा बेपत्ताको खोजीका लागि हरसम्भव प्रयास भइरहेको बताए। रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख उपसचिव राजेन्द्र ढुङ्गानाले भदौ १० गतेको बाढीबाट भएको त्रासदी स्मरण गर्दै आँखैअगाडि सहकर्मी गुमाउनु र बेपत्ता हुनुको घटनाले अझै झस्काइरहेको बताए।
भदौ १० गतेको बाढीमा रसुवा भन्सार कार्यालयमा खटिएका १५ जना राष्ट्रसेवक कर्मचारी बेपत्ता भएका थिए। तीमध्ये भन्सार अधिकृत नवकुल शर्माको शव गोरखामा फेला परेको थियो। उनको पशुपतिमा अन्तिम संस्कार गरिएको थियो। बाँकी १४ कर्मचारीको अवस्था अझै अज्ञात रहेको विभागले जनाएको छ।
बेपत्ता कर्मचारीमा भीम लामा, विष्णुप्रसाद भुसाल, दिनेशकुमार घिमिरे, अनिता पुरी, हरिबहादुर खड्का, राजेन्द्रकुमार सोनकर, विमल त्रिपाठी, गोविन्दबहादुर अधिकारी, नरेशदत्त जोशी, प्रेम सेढाइ, राजु ओली, विकास तामाङ, रामबहादुर नेपाली र सुनिल गुरुङ रहेका छन्। उनीहरूको अवस्था पहिल्याउन भन्सार विभागले विशेष टोली गठन गरी खोजी कार्यमा परिचालन गरेको जनाएको छ।






About Us
प्रतिक्रिया