पूँजी बजार सुधारका लागि सेबोनद्वारा श्वेतपत्र जारी: तीन चरणमा ५ वर्षे रूपान्तरण योजना


काठमाडौं – नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजारमा गुणात्मक सुधार ल्याउने लक्ष्यसहित नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३ सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिको नियामकीय सुधार कार्यलाई अघि बढाउने क्रममा बोर्डले प्राथमिक पूँजी बजारको दीर्घकालीन लक्ष्यसहित यो विस्तृत दस्तावेज ल्याएको हो।

श्वेतपत्रले नेपाली प्राथमिक पूँजी बजारको वर्तमान अवस्था, कानूनी तथा संस्थागत सीमा, विद्यमान समस्या र चुनौतीहरूको पहिचान गर्दै आगामी दशकका लागि रणनीतिक सुधारको दिशा तय गरेको छ। बजारलाई पारदर्शी, निष्पक्ष, प्रतिस्पर्धी, दक्ष, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय असल अभ्यासअनुकूल बनाउन यसले नीतिगत, कानूनी, संस्थागत र कार्यान्वयन सम्बन्धी एकीकृत रूपरेखा प्रस्तुत गरेको छ। यसमा नेपालको हालसम्मको नियामकीय अनुभव, अन्तर्राष्ट्रिय व्यवस्था, र आगामी सुधारका रणनीतिहरू समेटिएका छन्।

बजार सुधारका लागि बोर्डले दीर्घकालीन दृष्टिकोण राख्दै तीन चरणको कार्यान्वयन रणनीति अघि सारेको छ। सुधारको पहिलो चरण (१२ महिना) भित्र नीतिगत तथा कानूनी ढाँचा तयार गर्ने लक्ष्य छ। यसअन्तर्गत ऐन-नियमावली संशोधन, किताब निर्माण (मूल्य तय गर्ने) प्रणालीको समीक्षा, जलविद्युत कम्पनीहरूको प्राथमिक निष्काशन योग्यताको वैज्ञानिक पुनरावलोकन, योग्य संस्थागत खरिदकर्ता तथा मुख्य लगानीकर्ता सम्बन्धी निर्देशिका, बिक्री प्रबन्धकको उचित सतर्कता मापदण्ड, लगानीकर्ता वर्गीकरण र निष्काशन मूल्याङ्कन निर्देशिका तयार गरिनेछ।

सुधारको दोस्रो चरण (१ देखि ३ वर्ष) मा प्रविधिगत र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिइएको छ, जसमा एकीकृत डिजिटल प्राथमिक निष्काशन मञ्च, एकीकृत पोर्टल, विद्युतीय ग्राहक पहिचान, डिजिटल विवरणपत्र, प्रविधिगत अन्तर-सञ्जाल र वास्तविक समयमा अनुगमन गर्ने नियन्त्रण प्रणाली निर्माण गरिनेछ। तेस्रो चरण (३ देखि ५ वर्ष) मा भने पूर्ण रूपमा बजार-आधारित मूल्य निर्धारण, सबल मूल्य तय गर्ने प्रणाली, संस्थागत लगानीकर्ताको विस्तार र नीतिगत व्यवस्था अनुसार अन्तर्राष्ट्रिय लगानीकर्ताको सहभागितासहित बजारलाई अन्तर्राष्ट्रिय स्तरमा तुलनायोग्य बनाउने योजना छ।

सुधार कार्यक्रमलाई मार्गदर्शन गर्न श्वेतपत्रले ११ वटा आधारभूत सिद्धान्तहरू अघि सारेको छ। यसअन्तर्गत उच्च गुणस्तरको विवरणपत्र र पारदर्शी मूल्य निर्धारणमार्फत पारदर्शिता कायम गर्ने, समान सूचना पहुँच र स्वार्थको द्वन्द्व व्यवस्थापनमार्फत निष्पक्षता सुनिश्चित गर्ने, साना लगानीकर्तालाई प्राथमिकता दिँदै लगानीकर्ता संरक्षण गर्ने, वैज्ञानिक मूल्य तय गर्ने प्रक्रियामार्फत बजारमा आधारित मूल्य निर्धारण गर्ने, तथा योग्य संस्थागत खरिदकर्ता, सामूहिक लगानी कोष र बीमा कम्पनीजस्ता संस्थागत लगानीकर्ताको सहभागिता बढाउने सिद्धान्त छन्।

त्यस्तै, पूर्ण डिजिटल निष्काशन र नियमनकारी प्रविधिमार्फत प्रविधिमैत्री बजार बनाउने, कम्पनीको जोखिमका आधारमा समानुपातिक नियमन अपनाउने, निष्काशनकर्तादेखि नियामकसम्म सबैको सुशासन र उत्तरदायित्व स्पष्ट गर्ने, अन्तर्राष्ट्रिय असल अभ्यासलाई नेपालको आर्थिक यथार्थ अनुसार अपनाउने र सबै सुधारहरू चरणबद्ध तथा दिगो रूपमा कार्यान्वयन गर्ने सिद्धान्त लिइएको छ।

नियामकीय उत्तरदायित्व र अन्तर संस्थागत समन्वयका लागि बोर्डको नेतृत्वमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, केन्द्रीय निक्षेप सेवा र नेपाल बैंकर्स संघका प्रतिनिधिहरू सम्मिलित प्राथमिक बजार समन्वय समिति गठन गर्ने प्रस्ताव गरिएको छ। साथै, निकायहरूबीच वास्तविक समयमा सूचना आदानप्रदान गर्न डिजिटल सूचना आदानप्रदान मञ्च, उच्च जोखिम भएका निष्काशनका लागि संयुक्त जोखिम मूल्यांकन र पूर्वचेतावनी प्रणाली, एवं मानक प्रतिवेदन ढाँचा लागू गर्ने उल्लेख छ। निष्काशन तथा बिक्री प्रबन्धक, लेखापरीक्षक र क्रेडिट रेटिङ संस्थाहरूको उचित सतर्कता दायित्व स्पष्ट गर्दै उनीहरूको कार्यसम्पादन मापनका लागि सेवा मापदण्ड, कार्य समयसीमा र अनुपालन सूचकहरू लागू गर्ने भनिएको छ।

बोर्डका अनुसार यो श्वेतपत्र केवल प्राथमिक शेयर निष्काशन प्रणाली र बाँडफाँट प्रक्रियाको सुधारमा मात्र सीमित नभई राष्ट्रिय पूँजी निर्माण र निजी क्षेत्रको प्रतिस्पर्धात्मक विकास मार्फत नेपालको समग्र आर्थिक रूपन्तरणको रणनीतिक आधारपत्रको रूपमा कार्यान्वयनमा ल्याइनेछ। यसबाट लगानीकर्ताको सहभागिता र साक्षरता अभिवृद्धि हुनुका साथै दीर्घकालीन पूँजी परिचालनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा बोर्डले राखेको छ। आगामी दिनमा सरोकारवालाहरूसँग निरन्तर परामर्श गर्दै प्रस्तावित सुधारहरूलाई चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने जनाइएको छ।