काठमाडौं – वैदेशिक रोजगार विभागले विभागको अनुमति नलिई भारतका विमानस्थल हुँदै नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने ३९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ।
विभागका अनुसार अनुमति नलिई पटक–पटक भारतका विमानस्थल प्रयोग गरी श्रमिक विदेश पठाएको पुष्टि भएपछि ती ३९ म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको हो।
यस्तै, विभागले माग गरेको विवरण उपलब्ध नगराउन नसकेका १२४ वटा म्यानपावर कम्पनीलाई पनि जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको जनाएको छ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ बमोजिम म्यानपावर कम्पनीहरूले श्रमिकलाई विदेश पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्ने व्यवस्था पालना गरे–नगरेको अध्ययन तथा अनुगमन गर्न २०८२ चैत १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म विदेश पठाइएका श्रमिकको विवरण माग गरेको थियो।
तर, १२४ वटा म्यानपावर कम्पनीले तोकिएको अवधिमा विवरण पेश नगरेपछि उनीहरूलाई पनि कानुनबमोजिम कारबाही गरिएको विभागले जनाएको छ।
वैदेशिक रोजगार ऐनअनुसार नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा म्यानपावर कम्पनीले नेपालकै विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ। विशेष कारणवश भारतका विमानस्थलबाट श्रमिक पठाउनुपर्ने अवस्था आएमा त्यसको कारण खुलाएर विभागबाट पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ।







About Us
प्रतिक्रिया