११ महिनामा वैदेशिक अध्ययनमा एक खर्ब २४ अर्ब बाहिरियो


काठमाडौं – आर्थिक वर्ष २०८२/८३ काे ११ महिनामा उच्च शिक्षाका ठुलाे रकम बाहिरिएकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साे अवधिमा शिक्षातर्फको व्यय १ खर्ब २४ अर्ब ८० करोड रूपैयाँ पुगेकाे छ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १७५ अर्ब १६ करोड रूपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ११७ अर्ब १ करोड रूपैयाँ रहेको थियो।

तथ्यांकअनुसार पछिल्लाे वर्षको ११ महिनामा नेपालले खुद सेवा आय ९७ अर्ब ३३ करोड रूपैयाँ घाटामा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५६ अर्ब ३६ करोड रूपैयाँले घाटामा रहेको थियो।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय (पर्यटन) ६.९ प्रतिशतले वृद्धि भई ८२ अर्ब २० करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७६ अर्ब ८८ करोड रूपैयाँ रहेको थियो। समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.५ प्रतिशतले वृद्धि भई २०३ अर्ब ९७ करोड रूपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ।