प्रभु बैंकमा रश्मीको करिअर : छोटो समयमा नै ठूलो फड्को मार्दै सीओओदेखि प्रहरी फन्दासम्म

के कारणले पक्राउ परिन प्रभु बैंककी रश्मी ?


काठमाडौं – प्रभु बैंक प्रवेश गरेको छोटो समयमा नै आफ्नो छवि बनाउन सफल भएकी बैंकर रश्मी पन्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज पक्राउ गरेको छ । सीआईबीले उनलाई कर्जा अपचलन गरेको भन्दै बैंकिङ्ग कसुरको मुद्धामा पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराकाअनुसार उनलाई काठमाडौंको तीनकुनेबाट पक्राउ गरिएको हो । जबराले उनलाई बैंकिङ्ग कसुरमा पक्राउ गरिएको जानकारी दिए। उनलाई प्रभु बैंकको कर्जा अपचलन गरेको कसुरमा नियन्त्रणमा लिएको उनको भनाई छ ।

उनलाई आज शशिधर शर्माको कर्जा प्रकरणमा नै पक्राउ गरिएको हो । एशियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो । तर, कम्पनीले सो कर्जा रिसोर्ट बनाउन प्रयोग नगरेर कर्जा अपचलन गर्यो । त्यससँगै सीआईबीले शर्मालाई पक्राउ गर्यो । तर, पछि अनुसन्धान हुँदै जाँदा प्रभु बैंककी तत्कालिनचिफ बिजनेस अफिसर रश्मी पन्त पनि पक्राउ परेकी हुन् ।

यता, रश्मीले छोटो समयमा नै बैंकिङ्ग फड्को मारेको भनेर कुनै समय उनको अत्यधिक तारिफ हुने गरेको थियो । बैंक छिरेको ७ वर्ष मै चिफ अपरेटिङ अफिसर बनेकी रश्मि अझै बैंकिङ्गमा काम गर्ने बताउँथिन् । तर, कर्जा अपचलनको विषय बाहिरिएपछि बैंकका प्रमुख कार्यकारी, डिसीईओ लगायत सबैजसो कर्मचारी धमाधम पक्राउ पर्न थालेपछि उनी फरार भएकी थिइन् । फरार रहेकी रश्मिलाई सीआईबीले आज आफ्नो फन्दामा पारेको हो ।

रश्मी पछिल्लो समय बैंकमा विजनेश अफिसरका रुपमा कार्यररत थिइन् ।