कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय ई-सिम तथा आईडीपी सेवा उपलब्ध


काठमाडौं – कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइनबिच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ। सम्झौताअनुसार निम्बजका अन्तर्राष्ट्रिय ई–सिम तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटसम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा एकीकृत गरिने भएको छ।

अन्तर्राष्ट्रिय ई–सिम सेवामार्फत विदेश पुगेपछि स्थानीय सिम खरिद वा सिम परिवर्तन गर्नुपर्ने झन्झट हटाउँदै सहज रूपमा डेटा सेवा प्रयोग गर्न सकिनेछ। त्यस्तै, अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाले विदेशमा सवारी चलाउन आवश्यक अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

यी सेवाको अर्को विशेषता ग्राहकले सेवा शुल्क (कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत नेपाली रुपैयाँमै) भुक्तानी गर्न सक्ने व्यवस्था हो। यसले अन्तर्राष्ट्रिय सेवाका लागि विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने झन्झट कम गर्नुका साथै सेवा प्रक्रिया थप सरल, सुरक्षित र ग्राहकमैत्री बन्ने बैंकले जनाएको छ।

कुमारी बैंकले पछिल्लो समय प्रविधिमा आधारित आधुनिक बैंकिङ्ग सेवामार्फत ग्राहकको बदलिँदो आवश्यकता सम्बोधन गर्दै डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै आएको जनाएको छ। बैंकका अनुसार नयाँ सहकार्यले ग्रामीण, अर्ध–सहरी तथा सहरी क्षेत्रका ग्राहकलाई समेत अन्तर्राष्ट्रिय स्तरका डिजिटल सेवामा सहज पहुँच पुर्‍याउन सहयोग गर्नेछ।