काठमाडौं – पछिल्लो समय ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथि कारबाहीस्वरुप लगाउने जरिवाना रकम बढ्दै गइरहेको छ । दैनिक रूपमा लाखौँ राजस्व र सातामा एक करोडसम्म जरिवाना उठाएको छ । ट्राफिक प्रहरीहरू जरिवाना लगाउनमा बढी केन्द्रित हुने गरेको भन्दै सार्वजनिक वृत्तमा आलोचना समेत भइरहेको छ । योसँगै ट्राफिक व्यवस्थापनका सम्बन्धमा ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अंश :
ट्राफिक प्रहरीको नेतृत्व सम्हाल्नुभएको केही समय मात्रै भएको छ । सुरुवाती चरणमा ट्राफिक व्यवस्थापन सुधारका लागि तपाईंका मुख्य प्राथमिकताहरू के–के छन् ?
सबै सवारी साधनको नियमित र सुरक्षित आवागमन सुनिश्चित गर्नु तथा सडक दुर्घटना न्यूनीकरण गरी यात्रु र सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिनु ट्राफिक प्रहरीको मुख्य ध्येय हो । सडक पार गर्दा जेब्राक्रसिङको अनिवार्य प्रयोग गर्न, उपलब्ध स्थानमा आकाशे पुलको प्रयोग गर्न, सवारीसाधनको तीव्र गति नियन्त्रण गर्न तथा जडान गरिएका सबै ट्राफिक बत्ती (ट्राफिक लाइट) को पूर्ण रूपमा पालना गराउन ट्राफिक प्रहरी सक्रिय भएर काम गरिछ । सर्वसाधारणमा जेब्राक्रसिङ, आकाशे पुल तथा ट्राफिक लाइटको प्रयोग अपेक्षाकृत कम भएको पाइएकाले यी संरचनाहरूको प्रभावकारी प्रयोग सुनिश्चित गराउनु हाम्रो प्राथमिकताका विषय हुन् ।
ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा हाल मुख्य रूपमा कस्ता चुनौतीहरूको सामना गरिरहनुपरेको छ ? सडकमा बढ्दो सवारी चाप र अव्यवस्थित ट्राफिक व्यवस्थापनलाई सुधार गर्न कुन–कुन योजना तथा अभियानहरू अघि बढाउँदै हुनुहुन्छ ?
सडक दुर्घटना न्यूनीकरण र आवागमनलाई सहज बनाउन निरन्तर प्रयास भइरहे पनि चालक तथा पैदल यात्री दुवैको लापरबाहीका कारण अझै पनि ठुला दुर्घटनाहरू हुने गरेका छन् । यस्ता दुर्घटनाबाट निर्दोष नागरिकले समेत अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ । यही अवस्था हाल ट्राफिक प्रहरीका लागि प्रमुख चुनौतीका रूपमा छ ।
यी चुनौतीलाई सम्बोधन गर्न ट्राफिक प्रहरीले असार १ गतेदेखि एक महिनासम्म विशेष सडक सुरक्षा अभियान सञ्चालन गरेको थियो । अभियानअन्तर्गत विभिन्न क्षेत्रका व्यक्तित्व तथा सरोकारवालाको सहभागितामा सडक सुरक्षा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको थियो । विशेष गरी विद्यालय, कलेज तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै ट्राफिक प्रहरीले सडक सुरक्षा र ट्राफिक सचेतनासम्बन्धी अभियान सञ्चालन गरेको थियो ।
साथै चालक, सहचालक तथा अन्य सवारीसँग सम्बन्धित व्यक्तिहरूलाई प्रशिक्षण दिइएको थियो । ट्राफिक प्रहरी स्वयं विद्यालयमा पुगेर विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक सुरक्षा र सुरक्षित आवागमनसम्बन्धी प्रशिक्षणसमेत प्रदान गरेको थियो ।
यसका साथै ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत ‘सडक नियमको पालना गरौं’ भन्ने जनचेतनामूलक अभियान सञ्चालन गरेको थियो । जसलाई विभिन्न सामाजिक सञ्जालका माध्यमबाट नागरिकसमक्ष प्रभावकारी रूपमा पुर्याउने कामसमेत गरिएको थियो ।

पछिल्लो समय सडक दुर्घटनाको संख्या बढी देखिन्छ । दुर्घटना बढ्नुका प्रमुख कारणहरू के–के हुन्, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले कस्ता कदम चालिछ ?
काठमाडौं उपत्यकामा सवारी साधनको चाप अधिक बढ्दै गएको छ । विशेष गरी, दुईपांग्रे सवारी साधनको संख्या निकै बढी छ । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका करिब ८० प्रतिशत सवारी साधन दुईपांग्रे छन् । सवारी साधनको संख्या निरन्तर बढ्दै गए पनि सडक पूर्वाधार भने त्यसअनुसार विस्तार हुन सकेको छैन । निर्माण भएका अधिकांश सडकहरूले आफ्नो क्षमताभन्दा बढी सवारी साधनको भार वहन गरिरहेका छन् ।
अधिकांश सवारी साधन एउटै समयमा सडकमा सञ्चालन हुने भएकाले ट्राफिक जाम र दुर्घटनाको जोखिम बढ्ने गरेको छ । तीव्र गतिमा सवारी चलाउनु, मादक पदार्थ सेवन गरी सवारी चलाउनु तथा ट्राफिक नियमको पालना नगर्नु सडक दुर्घटनाका प्रमुख कारणहरू हुन् । त्यस्तै, पैदल यात्रीहरूले जेब्राक्रसिङ वा आकाशे पुलको प्रयोग नगरी जथाभाबी सडक पार गर्दा पनि दुर्घटनाको सम्भावना बढ्ने गरेको छ । सामान्यतया काठमाडौं उपत्यकामा पनि दैनिक करिब ५ जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् भने ५० जनाभन्दा बढी व्यक्ति अपाङ्ग हुने गरेका छन् ।
चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने जस्ता गतिविधि नियन्त्रण गर्न कस्ता उपाय अपनाइँदै छन् ?
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ । हाल उपत्यकाभर जडान गरिएका २ हजारभन्दा बढी सिसिटिभी क्यामेरामार्फत ट्राफिक गतिविधिको निरन्तर अनुगमन भइछ । तीव्र गतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार कानुनी दायरामा ल्याइने गरिएको छ ।
ट्राफिक प्रहरीको उद्देश्य जरिवाना उठाउनु होइन । यसको मुख्य उद्देश्य कुनै पनि नागरिकले सडक दुर्घटनाका कारण अनाहकमा ज्यान गुमाउन नपरोस्, घाइते वा अपाङ्ग हुन नपरोस् भन्ने हो । त्यसैले सबै सवारी चालकलाई सडकमा सुरक्षित र तोकिएको गतिमा सवारी चलाउन तथा गन्तव्यतर्फ समयमै पुग्न कम्तीमा ६ मिनेट अगाडि घरबाट निस्कन आग्रह गरिन्छ ।
मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी नचलाउन ट्राफिक प्रहरीले निरन्तर सचेतना फैलाउँदै आएको छ । यसको कारण, यस्ता पदार्थको सेवनपछि सवारी चलाउँदा नागरिकले ज्यान गुमाउने वा गम्भीर घाइते हुने जोखिम अत्यधिक बढ्छ । यस समस्याको न्यूनीकरण गर्न सबै सरोकारवाला निकाय र नागरिकको साझा दायित्व आवश्यक छ । ट्राफिक प्रहरीले फिल्डमा नियमित रूपमा मादक पदार्थ तथा लागू पदार्थ सेवन चेकजाँच सञ्चालन गर्नुका साथै तीव्र गतिमा सवारी चलाउने तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कानुनी दायरामा ल्याउने कार्य निरन्तर गर्दै आएको छ ।

दुर्घटना बढी हुने क्षेत्र पहिचान गरी त्यस्ता स्थानमा विशेष सुरक्षा योजना वा सुधारका कार्यक्रम सञ्चालन गरिएको छ ?
विशेष गरी रिङरोड क्षेत्रमा तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेका छन् । त्यस्तै, भित्री गल्लीहरूमा उपलब्ध पूर्वाधार तथा निर्धारित मार्गको प्रयोग नगरी जथाभाबी राइट टर्न गर्ने कारणले पनि दुर्घटनाको जोखिम बढेको छ। साथै, रातिको समयमा सवारी साधनको बत्तीको उचित प्रयोग नगरी चलाउने प्रवृत्तिका कारण पनि धेरै व्यक्तिले ज्यान गुमाउनुपरेको अवस्था छ ।
ट्राफिक प्रहरीले यस्ता जोखिमयुक्त स्थानहरूको पहिचान गरेको छ । काठमाडौं उपत्यकाभित्र करिब १ सय ६५ वटा यस्ता स्थानहरू पहिचान गरिएका छन् । ती स्थानहरूमा विशेष निगरानीका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ । साथै, सामान्य अवस्थामा भन्दा दोब्बर संख्यामा ट्राफिक प्रहरी परिचालन गरी ती क्षेत्रहरूमा सवारी आवागमनलाई सुरक्षित, व्यवस्थित र दुर्घटनारहित बनाउने प्रयास गरिएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारी धनीमाथि कारबाही प्रक्रिया कस्तो छ, कारबाहीलाई अझ प्रभावकारी बनाउन के सुधार आवश्यक देख्नुहुन्छ ?
अहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा सवारी नियम उल्लंघनसम्बन्धी व्यवस्था अनुसार ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनबमोजिम जरिवाना गर्ने गरेको छ । साथै, तीव्र गतिमा सवारी चलाउने तथा मापसे गरी सवारी चलाउने चालकहरूका लागि एक घण्टे सचेतनामूलक कक्षा अनिवार्य गरिएको छ ।
यसका अतिरिक्त, ट्राफिक प्रहरीले विभिन्न स्थान, टोल तथा समुदायमा पुगेर सर्वसाधारणलाई सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कक्षाहरू सञ्चालन गर्दै आएको छ । सामाजिक सञ्जालमार्फत पनि ट्राफिक नियम, सडक सुरक्षा तथा सुरक्षित सवारी सञ्चालनसम्बन्धी जनचेतनामूलक सामग्री प्रसारण गरी नागरिकलाई सचेत बनाउने कार्य निरन्तर रूपमा भइरहेको छ ।
ट्राफिक प्रहरीको मुख्य उद्देश्य कारबाही गर्नु मात्र होइन । यसको मूल उद्देश्य कुनै पनि नागरिकले सडक दुर्घटनाका कारण अनाहकमा ज्यान गुमाउन नपरोस् र घाइते हुन नपरोस् भन्ने हो । यही उद्देश्यलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले आवश्यक कानुनी कारबाहीलाई प्रभावकारी बनाउनुका साथै सचेतनामूलक कार्यक्रमहरूलाई पनि निरन्तर सञ्चालन गरिछ । ट्राफिक प्रहरीको अपेक्षा प्रत्येक नागरिकले ट्राफिक नियमहरूको पूर्ण पालना गर्दै जिम्मेवारीपूर्वक सडक प्रयोग गरून् भने नै हो ।
यतिबेला ट्राफिक प्रहरीले दैनिक लाखौँ जरिवाना रकम असुल्न थालेको छ । यसको कतै विरोध र कतै चर्चा पनि हुँदै छ । ट्राफिकले किन आर्थिक जरिवानालाई प्राथमिकतामा राखेको हो ?
यो गलत बुझाइ हो, किनकि ट्राफिक प्रहरीको मुख्य उद्देश्य जरिवाना गर्नु होइन । वास्तवमा ट्राफिक प्रहरीको प्रमुख उद्देश्य सडकमा हुने दुर्घटना न्यूनीकरण गर्नु, कुनै पनि नागरिकले अनाहकमा ज्यान गुमाउन नपरोस्, घाइते वा अपाङ्ग हुन नपरोस् भन्ने सुनिश्चित गर्नु हो । ट्राफिक प्रहरी एक नियामक निकाय हो । यसको मुख्य जिम्मेवारी प्रचलित ऐन, कानुन तथा ट्राफिक नियमहरूको प्रभावकारी कार्यान्वयन गर्नु हो ।
ट्राफिक प्रहरीको मूल दायित्व सडकलाई सुरक्षित बनाउनु र दुर्घटना हुन नदिन आवश्यक निगरानी, व्यवस्थापन तथा सचेतना अभिवृद्धि गर्नु हो । कुनै पनि व्यक्तिले एउटै किसिमको घटना अथवा सडक नियम उल्लंघन नगरोस् भने उद्देश्यले सचेत गराउन राज्यले जरिवानाको व्यवस्था गरेको हो । यसलाई गलत बुझेर ‘राज्यले ट्राफिक प्रहरीमार्फत पैसा उठायो’ भन्ने भनाइ झुट हो । ट्राफिक प्रहरीको उद्देश्य शून्य जरिवाना हो ।
ट्राफिक नियम पालनामा नागरिकको भूमिका कस्तो हुनुपर्छ ? सडक सुरक्षाका लागि आम नागरिकलाई तपाईँको सन्देश के छ ?
सडक प्रयोग गर्ने हरेक नागरिकले सडकका नियम र सर्तहरूको पूर्ण रूपमा पालना गरेमा दुर्घटनाको सम्भावना धेरै हदसम्म कम हुन्छ। सवारी साधन आफैँमा एक निर्जीव वस्तु हो । त्यसैले यसले आफैँ दुर्घटना गराउँदैन । सवारी साधनलाई चलाउने चालकको सचेतना, जिम्मेवारी र सावधानीले नै दुर्घटना हुने वा नहुने निर्धारण गर्छ । यद्यपि कहिलेकाहीँ प्राविधिक खराबीका कारण पनि दुर्घटना हुन सक्छ, तर अधिकांश दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही, असावधानी वा ट्राफिक नियमको उल्लंघन नै हो ।
त्यसैले प्रत्येक चालकले सवारी चलाउँदा आफू मात्र होइन, अन्य पैदल यात्री, साइकल चालक, मोटरसाइकल चालक तथा अन्य सवारी चालकहरूले पनि सोही सडक प्रयोग गरिरहेका छन् भन्ने कुरालाई सदैव ध्यानमा राख्नुपर्छ । दुर्घटनाका घटनाहरूमा जेब्राक्रसिङमै बाटो काट्ने क्रममा ज्यान गुमाएका घटनासमेत भएका छन् । त्यसै गरी, आकाशे पुलको मुनिबाट सडक पार गर्ने क्रममा सवारीसाधनको ठक्करबाट मृत्यु भएका घटनाहरू पनि देखिएका छन् । दुर्घटनाका घटनामा सवारी चालक मात्र होइन, पैदलयात्रीले पनि ट्राफिक नियम उल्लंघन गरेको अवस्था पाइन्छ ।
यसैकारण ट्राफिक प्रहरीले सबै पैदल यात्रीलाई जेब्राक्रसिङ वा आकाशे पुल प्रयोग गरेर मात्र सडक पार गर्न आग्रह गरेको छ । यदि सडक पार गर्न कठिनाइ भएमा ट्राफिक प्रहरी तथा त्यहाँ खटिएका नेपाल प्रहरीले सुरक्षित रूपमा सडक पार गराइदिने व्यवस्था पनि हुन्छ । त्यसैले हतार नगरी ट्राफिक प्रहरीको इसारा र निर्देशनअनुसार मात्र सडक पार गर्न ट्राफिक प्रहरीको अनुरोध छ ।
ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग (जस्तै सिसिटिभी, डिजिटल प्रणाली, स्वचालित निगरानी) बढाइएको छ । यसको प्रभावकारिता कस्तो देखिएको छ ?
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अहिले ‘फेसलेस ट्राफिकिङ’ अवधारणालाई कार्यान्वयन गर्दै अघि बढेको छ । फेसलेस ट्राफिकिङ भनेको सडकमा ट्राफिक प्रहरीको भौतिक उपस्थितिमा मात्र निर्भर नभई आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापन तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्नु हो ।
यस अवधारणाअन्तर्गत काठमाडौं उपत्यकाभर २ हजारभन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिएको छ भने थप करिब ५ हजार क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढेको छ । यी क्यामेरा सञ्चालनमा आएपछि मुख्य सडकसँगै भित्री सडकहरू पनि ट्राफिक प्रहरीको निगरानीमा आउनेछन् । सिसिटिभी क्यामेराको माध्यमबाट कुनै पनि स्थानको अवस्थाबारे वास्तविक समयमै जानकारी लिन र आवश्यक कारबाही गर्न सहज हुनेछ ।
प्रविधिको प्रयोग बढाइए पनि आवश्यक स्थानमा ट्राफिक प्रहरीको भौतिक उपस्थिति भने कायम रहनेछ । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन तथा चालकमाथि सिसिटिभी क्यामेराबाट प्राप्त दृश्यलाई ‘स्टेट यूथ एभिडेन्स’का रूपमा प्रयोग गरी कारबाही गर्ने तयारी गरिएको छ । यसबाट कारबाहीलाई थप पारदर्शी, प्रमाणमा आधारित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।
कतिपय अवस्थामा ट्राफिक प्रहरी र सेवाग्राहीबिच विवाद हुने वा कारबाहीमाथि प्रश्न उठ्ने गरेको छ । फेसलेस ट्राफिकिङ प्रणालीले यस्ता गुनासा कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारीको वास्तविक समय (रियल टाइम) को प्रमाण सुरक्षित रहने भएकाले कुन समयमा, कहाँ र कसरी नियम उल्लंघन भयो भन्ने स्पष्ट अभिलेख उपलब्ध हुनेछ ।
यसका साथै, रोबोट ट्राफिक प्रणालीको पनि परीक्षण भइछ। ड्रोन, रोबोट तथा सिसिटिभी क्यामेराजस्ता आधुनिक प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुका साथै ट्राफिक प्रहरीमाथि लाग्ने अनावश्यक आरोप तथा विवाद न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आगामी दिनमा ट्राफिक व्यवस्थापनलाई अझ सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन तपाईँका दीर्घकालीन योजना के छन् ?
सडक दुर्घटना न्यूनीकरण गर्न व्यापक रूपमा सिसिटिभी क्यामेरा जडान गर्ने योजना अघि बढाइएको छ । सडकका चोकहरूलाई व्यवस्थित बनाउने, ट्राफिक व्यवस्थापन सुधार गर्ने, फ्लाइओभर निर्माण गर्ने विषयमा अध्ययन गरिछ । त्यसै गरी, स्मार्ट ट्राफिक लाइट प्रणाली लागू गर्ने योजना पनि अघि सारिएको छ । कुनै सवारीसाधनले ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा सम्बन्धित व्यक्तिको घरमै जरिवाना चिट पुर्याउने व्यवस्था गरिनेछ । साथै, ट्राफिक नियम उल्लंघनको प्रमाण स्वरूप भिडियो क्लिपसहितको सूचना मोबाइल सन्देशमार्फत पठाउने प्रक्रिया पनि लागू गरिनेछ ।








About Us
प्रतिक्रिया