काठमाडौँ– बिहान उठ्ने बित्तिकै मोबाइलमा आउने पुरस्कारका सन्देश, सामाजिक सञ्जालमा देखिने ‘दुई महिनामै पैसा दोब्बर हुने’ लगानीका विज्ञापन वा बैंकका कर्मचारी बनेर खाता बन्द हुन लागेको भन्दै ओटीपी माग्ने फोन कलहरू आजकल सामान्य भइसकेका छन् । तर, यस्ता सामान्य सूचनामा गरिने केही मिनेटको असावधानीले मानिसको वर्षौँको बचत एक छिनमा गायब भइरहेको छ । प्रविधिको विकाससँगै नेपालमा पछिल्लो समय प्रविधिको दुरुपयोग गरी सर्वसाधारणलाई आर्थिक रूपमा ठगी गर्ने क्रम तीव्र रूपमा बढेको छ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्ला तीन वर्षमा साइबर ठगीबाट सर्वसाधारणको १ अर्ब ३ करोड ७९ लाख रुपैयाँभन्दा बढी रकम ठगिएको छ । ठगी भएको रकमको तुलनामा असुलीको अवस्था भने निकै निराशाजनक देखिन्छ । यस अवधिमा नेपाल प्रहरीको साइबर ब्युरोले कुल ठगिएको रकममध्ये २७ करोड ३७ लाख रुपैयाँ मात्रै पीडितहरूलाई फिर्ता गराउन सफल भएको छ । यो ज्यादै न्यून हो ।
गत आर्थिक वर्ष ०८२/८३ मा मात्रै साइबर ठगीका विभिन्न घटनामा ४९ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको उजुरी परेको थियो । जसमध्ये ब्युरोले १७ करोड १७ लाख रुपैयाँ पीडितलाई फिर्ता गराएको छ । त्यसैगरी, आर्थिक वर्ष ०८१/८२ मा १९ करोड २३ लाख रुपैयाँ ठगी भएकोमा ८ करोड २६ लाख रुपैयाँ र आर्थिक वर्ष ०८०/८१ मा ३४ करोड ७२ लाख रुपैयाँ ठगी भएकोमा १ करोड ९४ लाख रुपैयाँ मात्रै फिर्ता भएको थियो । साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीपकुमार गिरीका अनुसार गत असार महिनामा मात्रै २ करोड ७० लाख रुपैयाँ फिर्ता गराइएको थियो, जसमध्ये असार ३१ गते एकै दिन ३३ लाख रुपैयाँ पीडितको खातामा पठाइएको थियो ।
साइबर अपराध विज्ञ डा. श्रीकृष्ण भट्टराईले पछिल्लो समय फिसिङ एप, नक्कली रोजगारीका प्रस्ताव, लटरी तथा आकर्षक आम्दानीको प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति बढेको बताए । उनले भने, ‘ठगहरूले पीडितबाट रकम जम्मा गराउनासाथ त्यसलाई तत्कालै विभिन्न बैंक खाता र डिजिटल वालेटहरूमा स्थानान्तरण गरेर छर्ने गर्छन्, जसले गर्दा वास्तविक अपराधी पहिचान गर्न र रकम फिर्ता ल्याउन ठुलो चुनौती हुने गरेको छ ।’ यसका साथै, एटिएम र कार्डसम्बन्धी ठगीमा कार्ड क्लोनिङ तथा अन्तर्राष्ट्रिय भुक्तानी सञ्जालको दुरुपयोग हुने गरेको छ । ठगीको रकमलाई विदेशी मुद्रा वा क्रिप्टो करेन्सीमार्फत बाहिर लैजाने गरिएकाले अनुसन्धान र असुली प्रक्रिया झनै जटिल बन्दै गएको डा. भट्टराई बताउँछन् ।
सामान्यतया एक पटक पैसा ठगिएपछि फिर्ता आउँदैन भन्ने छाप परे पनि समयमै उजुरी परेमा रकम फिर्ता हुने सम्भावना रहन्छ । ब्युरोले उजुरी प्राप्त हुनासाथ सम्बन्धित बैंक, वित्तीय संस्था र डिजिटल वालेट सेवा प्रदायकहरूसँग तत्काल समन्वय गरी रकम कुन–कुन खातामा गएको छ विवरण संकलन गर्छ र ती खाताहरू रोक्का गराउँछ । त्यसपछि रकम पुगेका खातावालालाई सम्पर्क गरी रकम फिर्ता गराउने प्रक्रिया अघि बढाइन्छ । अनुसन्धानबाट खातावाला ठगीमा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएमा कानुनी कारबाही गरिन्छ । तर, कतिपय अवस्थामा ह्याकरहरूले निर्दोष सर्वसाधारणको खाता प्रयोग गरिदिने भएकाले स्रोत नखुलेको रकम आएको थाहा पाएपछि कतिपय खातावालाले स्वेच्छाले पनि रकम फिर्ता गर्ने गरेका छन् ।
प्रविधिको विस्तारसँगै सुविधा बढे पनि जोखिम उत्तिकै गतिमा बढेकाले अहिले ब्युरोमा अनलाइन बैंकिङ्ग, सामाजिक सञ्जाल र नक्कली लगानीका उजुरीहरूको चाङ लाग्ने गरेको छ । साइबर ठगहरूले नयाँ–नयाँ प्रविधिको प्रयोग गरी सक्कली जस्तै देखिने माध्यमबाट मानिसहरूलाई झुक्याउने गरेकाले सर्वसाधारण आफैँ सजग हुनुपर्ने प्रहरी अधिकृतहरू बताउँछन् । ठगीको जोखिमबाट बच्नका लागि अनावश्यक लिंकहरू नखोल्ने, कुनै पनि सूचना वा सन्देशको विश्वसनीयता पुष्टि गर्ने, आफ्नो गोप्य विवरण कसैसँग शेयर नगर्ने र परिचित व्यक्तिलाई समेत रकम पठाउनुअघि एक पटक यकिन गरेर मात्र भुक्तानी गर्ने बानी बसाल्नु आवश्यक भइसकेको जानकारहरू बताउँछन् ।






About Us
प्रतिक्रिया