स्वास्थ्य बीमा बोर्डले बिमितलाई भन्यो – अनावश्यक स्वास्थ्य परीक्षण नगराउनु, हालसम्म २३ अर्ब ४४ करोड भुक्तानी


काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको मिति २०८२ साल मङ्सिर मसान्तसम्मको सम्पूर्ण दाबी भुक्तानी गरिएको जनाएको छ। बोर्डका अनुसार चालु आर्थिक वर्षमा विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरिएको छ।

बोर्डले सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद पनि स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौँ बिमित नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको जनाएको छ। साथै, नागरिकले उपचारका क्रममा आफ्नै गोजीबाट व्यहोर्नु पर्ने खर्च घटाई वित्तीय जोखिमबाट संरक्षण गर्न स्वास्थ्य बीमा कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ।

यद्यपि, स्वास्थ्य बीमा कार्यक्रमका लागि दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा केही समय सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानीमा ढिलाइ भएको बोर्डले स्वीकार गरेको छ। बोर्डकाअनुसार हाल गरिएको भुक्तानीसँगै २०८२ साल मङ्सिर मसान्तसम्म बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फरफरक भएको छ।

मङ्सिर पछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन र दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका बिमित नागरिकको उपचारमा कुनै अवरोध नगरी तोकिएको मापदण्डअनुसार गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउन आग्रह गरेको छ।

यसैगरी, सर्वसाधारणलाई अनावश्यक स्वास्थ्य परीक्षण नगरेर सहयोग गर्न समेत बोर्डले अनुरोध गरेको छ।