काठमाडौं – सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सुरुङमार्ग उपयोग दस्तुर (टोल फी) निर्धारण गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) बमोजिम नागढुंगा सुरुङमार्ग खण्डमा सञ्चालन हुने सवारीसाधनबाट सुरुङमार्ग उपयोग दस्तुर लिने व्यवस्था गरेको जनाएको छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यसैगरी, मिनीबस तथा मिनी टिपररट्रकले प्रवेश गर्दा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ शुल्क लाग्नेछ।
यस्तै, बस तथा सिंगल रियर एक्सल ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र जाँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। मल्टी एक्सल ट्रक, सवारीसाधन बोक्ने ट्रक तथा भारी उपकरणले प्रवेश गर्दा ६०० रुपैयाँ र जाँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।







About Us
प्रतिक्रिया