मुद्रास्फीति दबाबबीच जापानको ब्याजदर ३१ वर्षयताकै उच्च


काठमाडौं – मध्यपूर्व युद्धपछि बढेको मुद्रास्फीति, ऊर्जा आयातको महँगी र कमजोर येनमाथिको दबाबबीच जापानको केन्द्रीय बैंक (बैंक अफ जापान–बीओजे) ले ब्याजदर बढाएर ३१ वर्षयताकै उच्च स्तरमा पुर्‍याएको छ।

बीओजेले मंगलबार आफ्नो प्रमुख नीतिगत ब्याजदर २५ आधार बिन्दुले बढाएर १ प्रतिशत कायम गरेको हो। यो सन् १९९५ यताकै उच्च स्तर तथा डिसेम्बरयताको पहिलो ब्याजदर वृद्धि हो। जापानले मुद्रास्फीति नियन्त्रण र राष्ट्रिय मुद्रा येनलाई स्थिर बनाउने उद्देश्यले मौद्रिक नीति थप कडा बनाएको विश्लेषण गरिएको छ।

मध्यपूर्वमा तीन महिनासम्म चलेको द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा बजार प्रभावित भएको थियो। तेलको मूल्य बढेसँगै धेरै देशमा महँगी चुलिएपछि गत साता युरोपेली केन्द्रीय बैंक र इन्डोनेसियाको केन्द्रीय बैंकले पनि ब्याजदर बढाएका थिए।

अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा पुगेपछि अमेरिकी फेडरल रिजर्भले पनि आगामी दिनमा ब्याजदर बढाउन सक्ने अपेक्षा बढेको छ। यद्यपि यस साताको बैठकमा तत्काल निर्णय हुने सम्भावना कम रहेको बताइएको छ।

अस्ट्रेलियाको रिजर्भ बैंकले यस वर्ष तीन पटक ब्याजदर बढाइसकेको छ भने बैंक अफ इङ्गल्यान्डले पनि थप कडा मौद्रिक नीति अपनाउन सक्ने संकेत देखिएको छ।

अमेरिका र इरानबीच तीन महिना लामो युद्ध अन्त्य गर्ने तथा हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने सहमति भए पनि विश्व अर्थतन्त्रमा अनिश्चितता अझै कायम छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने उक्त मार्ग पुनः सञ्चालनमा आएपछि ऊर्जा बजारमा केही राहत मिल्ने अपेक्षा गरिएको छ।

फेब्रुअरीमा युद्ध सुरु हुनुअघि जापान आफ्नो कच्चा तेल आवश्यकताको करिब ९० प्रतिशत मध्यपूर्वबाट आयातमा निर्भर थियो। तेलको मूल्यवृद्धि र अमेरिका–जापान ब्याजदर अन्तरका कारण येनमाथि थप दबाब परेको छ।

गत महिना अमेरिकी डलरको तुलनामा येन १६० को स्तरमा झरेपछि जापान सरकारले मुद्रा स्थिर राख्न करिब ७२ अर्ब डलर बराबरको हस्तक्षेप गरेको थियो। ब्याजदर वृद्धि घोषणापछि येन केही बलियो बने पनि त्यो प्रभाव लामो समय टिक्न सकेन।

अक्सफोर्ड इकोनोमिक्सका जापान प्रमुख अर्थशास्त्री सिगेटो नागाईले बीओजेले ब्याजदर वृद्धि गर्न थप ढिलाइ गर्न नसक्ने बताएका छन्। उनका अनुसार निर्णयमा ढिलाइ भएको भए वित्तीय बजार निराश हुने र येन थप कमजोर बन्ने जोखिम थियो।

बीएनपी परिबासका प्रमुख अर्थशास्त्री रयुतारो कोनोले जापानको आर्थिक जोखिम केही घटेको र आधारभूत मुद्रास्फीति अझ बढ्न सक्ने संकेत देखिएको बताएका छन्। यद्यपि ब्याजदर तीव्र रूपमा बढाउँदा सरकार र केन्द्रीय बैंकबीच मतभेद बढ्न सक्ने विश्लेषण गरिएको छ।

अब लगानीकर्ता तथा बजारको ध्यान बैंक अफ जापानले आगामी महिनामा थप ब्याजदर वृद्धि गर्ने संकेत दिन्छ कि दिँदैन भन्नेमा केन्द्रित छ। साथै, बन्ड खरिद कार्यक्रमसम्बन्धी आगामी रणनीति पनि चासोको विषय बनेको छ।