डोल्पा – जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल राज गिरीको नेतृत्वमा प्रहरीले जुवातास तथा कौडा खेलजस्ता अवैध गतिविधिविरुद्ध कडा निगरानी बढाएको छ। यसैक्रममा काइके गाउँपालिकाका अध्यक्ष अंगतकुमार रानामगरसहित ६ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेकाे छ।
बिहीबार दिउँसो सदरमुकाम दुनैस्थित एक घरमा पैसाको हारजित हुने गरी जुवा (पासार कौडा) खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो। साे क्रममा पक्राउ पर्नेहरूमा ठुलीभेरी नगरपालिका-३ का ५१ वर्षीय पञ्च बुढा, त्रिपुरासुन्दरी नगरपालिका-७ का ३३ वर्षीय सागर श्रेष्ठ, ठुलीभेरी नगरपालिका-५ का ३८ वर्षीय ओमबहादुर रोकाया, काइके गाउँपालिका-५ घर भई हाल ठुलीभेरी नगरपालिका-३ बस्ने ५० वर्षीय हिराबहादुर रोकाया, ठुलीभेरी नगरपालिका-४ का ५३ वर्षीय इन्द्रबहादुर रोकाया रहेका छन्।
घटनास्थलबाट प्रहरीले नगद ४९ हजार ८ सय रुपैयाँ, दुई थान पारा, ४६ थान कौडा तथा सात थान मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। डिएसपी गिरीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय डोल्पाले अपराध नियन्त्रण, कानुनको प्रभावकारी कार्यान्वयन र सुशासन प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको देखिएको छ।





About Us
प्रतिक्रिया