काठमाडौं – विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको माहोल विस्तारै तात्न थालेसँगै राजधानी काठमाडौंमा पनि त्यसको झल्को दिने प्रतियोगिता सुरु भएको छ। सामाजिक सञ्जाल प्लेटफर्म रुटिन अफ नेपाल बन्द (आर ओ एन बी) ले आयोजना गरेको ‘५ए साइड ओपन फुटसल प्रतियोगिता’बिहीबारदेखि पेप्सीकोलामा सुरु भएको हो।
प्रतियोगिताको विशेषता भनेकै यसलाई फिफा विश्वकपकै नेपाली संस्करणका रूपमा सञ्चालन गरिएको छ। प्रतियोगितामा सहभागी ४८ वटा टोलीले फिफा विश्वकपमा सहभागी हुने देशहरूको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरिरहेका छन्। ब्राजिल, अर्जेन्टिना, फ्रान्स, स्पेन, जर्मनीलगायत विश्व फुटबलका चर्चित राष्ट्रहरूको नामबाट टोलीहरू मैदानमा उत्रिएका छन्।
खेलपनि फिफा विश्वकपकै शैलीमा तयार गरिएको छ।
समूह चरणदेखि नकआउट चरणसम्मका खेलहरू विश्वकपकै ढाँचाअनुसार सञ्चालन हुनेछन्। यसले सहभागी खेलाडी र दर्शकलाई विश्वकपकै अनुभूति दिलाउने आयोजकको विश्वास छ।विश्वकप नजिकिँदै जाँदा काठमाडौंका फुटसल मैदान, चोक–चोक र चियापसलहरूमा फुटबलसम्बन्धी चर्चा बढ्न थालेको छ। युवादेखि बालबालिका र वृद्धसम्मले मनपर्ने टोली, खेलाडी र सम्भावित विजेताबारे बहस गरिरहेका छन्।
फुटबल जर्सी तथा खेल सामग्री पसलहरूमा समेत ग्राहकको चहलपहल बढ्दो छ। यही उत्साहलाई थप उचाइ दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कुल ४८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ। प्रतियोगितामा सहभागिता जनाउन प्रत्येक टोलीबाट २० हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको थियो। बिहीबारदेखि सुरु भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगिताले फुटबलप्रेमीहरूलाई विश्वकपको माहोल नजिकबाट अनुभूति गराउनुका साथै स्थानीय स्तरमा फुटबल संस्कृतिलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी




















About Us
प्रतिक्रिया