विश्वकप २०२६ः फिफाको खातामा १७ खर्ब ३० अर्ब रुपैयाँ, विजेताले कति पाउँछन् ?


काठमाडौं- विश्व खेलकुदकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०२६ सुरु हुन लाग्दा यसको व्यापारिक चर्चाले नयाँ उचाइ लिएको छ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको यस पटकको विश्वकप फिफा (विश्व फुटबल महासङ्घ) को इतिहासकै सबैभन्दा महँगो र बढी आम्दानी गर्ने प्रतियोगिता बन्ने पक्का भएको छ।

फिफाले यस २०२३–२०२६ को चार वर्षे चक्रमा कुल १३ अर्ब अमेरिकी डलर (करिब १७ खर्ब ३० अर्ब नेपाली रुपैयाँ) आम्दानी गर्ने प्रक्षेपण गरेको छ। यसपटक टोली संख्या ३२ बाट बढाएर ४८ पुर्‍याइएकाले खेल संख्या पनि ६४ बाट बढेर १०४ पुगेको छ। खेलको संख्या बढेसँगै फिफाको आम्दानीका मुख्य चार खम्बाहरूमा अनपेक्षित वृद्धि भएको हो।

फिफाको आम्दानीको सबैभन्दा ठुलो हिस्सा टेलिभिजन तथा मिडिया प्रसारण अधिकार (मिडिया राइट्स) बाट आउने गर्दछ। विश्वभरका सञ्चार माध्यमहरूलाई खेल प्रत्यक्ष प्रसारणको अनुमति बेचेर फिफाले करिब ३ अर्ब ९० करोड डलर संकलन गर्दैछ। त्यस्तै, फिफाको दोस्रो ठुलो आम्दानीको स्रोत बहुराष्ट्रिय कम्पनीहरूको प्रायोजन (स्पोन्सरसिप) बनेको छ।

फिफाले यस विश्वकपका लागि १६ वटा विश्वव्यापी शीर्ष प्रायोजक र ११ वटा अन्य सहयोगी कम्पनीहरू गरी कुल २७ वटा मुख्य ब्रान्डहरूसँग व्यापारिक सम्झौता गरेको छ। जसमा एडिडास, कोकाकोला, भिसा, लेनोभो, र बैंक अफ अमेरिका जस्ता दिग्गज कम्पनीहरू सामेल छन्। यी कम्पनीहरूले विश्वकपको मञ्चमा आफ्नो लोगो र विज्ञापन देखाउनका लागि मात्रै कुल २ अर्ब ४० करोडदेखि २ अर्ब ८० करोड डलरसम्म फिफालाई बुझाएका छन्।

यस पटक बैंक अफ अमेरिका विश्वकपकै इतिहासमा पहिलो आधिकारिक बैंकिङ्ग साझेदारसमेत बनेको छ। तेस्रो ठुलो आम्दानी रंगशालाको टिकट बिक्री र लक्जरी हस्पिटालिटी सेवाबाट हुँदैछ। उत्तर अमेरिकाका विशाल र आधुनिक रङ्गशालाहरूमा खेलहरू सञ्चालन हुनेछन्।

फिफाले टिकट बिक्रीबाट मात्रै ३ अर्ब डलर कमाउने लक्ष्य राखेको छ, जुन विगतका विश्वकपको तुलनामा निकै धेरै हो। यसबाहेक, आधिकारिक जर्सी, फुटबल, भिडियो गेम र विभिन्न उपहार सामग्रीहरूको अनुमति पत्र (लाइसेन्स) बेचेर पनि फिफाले थप करोडौँ डलर कमाउनेछ।

फिफा कानुनी रूपमा एक गैर–नाफामूलक संस्था भएकाले यो विशाल रकमको करिब ९० प्रतिशत हिस्सा फुटबल खेलकै प्रवर्द्धन र व्यवस्थापनमा खर्च गर्नेछ। यस विश्वकपमा कुल पुरस्कार राशि ६५ करोड ५० लाख डलर (करिब ८७ अर्ब नेपाली रुपैयाँ) छुट्याइएको छ। जसमा विश्वकप जित्ने देशले मात्रै ५ करोड डलर (करिब ६ अर्ब ६५ करोड नेपाली रुपैयाँ) घर लैजानेछ।

बाँकी रकम रंगशाला सञ्चालन, सुरक्षा, र विकासोन्मुख देशका फुटबल संघहरूमा भुईँसतहको फुटबल विकासका लागि पूर्वाधार निर्माण गर्न वितरण गरिने फिफाले जनाएको छ। खेल संख्या र व्यापारको हिसाबले यो विश्वकप मानव इतिहासकै सबैभन्दा ठुलो खेल उत्सव बन्ने देखिन्छ।