छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ


काठमाडौं – पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा बसेर काम गर्दा उठ्ने प्रश्नहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार रहेको बताए। उनले छानबिन समितिसमक्ष बयान दिँदा कठिन प्रश्नहरूको समेत स्पष्ट र सहज रूपमा जवाफ दिएको उल्लेख गरे।

‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेर नै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु,’उनले भने।

बयानका क्रममा भएको एउटा रोचक प्रसंग सुनाउँदै गुरुङले ठट्यौली शैलीमा उनले भने, ‘समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयोरु’ भनेर प्रश्न गर्‍यो। मैले पनि सहज रूपमा ‘तपाईँहरूको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ।’

उनले छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा विश्वास व्यक्त गरे।

आफू निर्दोष साबित भई पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउने सम्भावनातर्फ संकेत गर्दै गुरुङले भने, ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला।’ 

उनका अनुसार यस्तो आग्रह कामलाई प्राथमिकता दिन गरिएको हो। सम्बोधनका क्रममा गुरुङले रास्वपाको संगठन निर्माण र आगामी नेतृत्वको कार्यशैलीबारे पनि धारणा राखे। अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुन नहुने उनको भनाइ थियो।