कास्कीमा प्रहरीको स्वीप अप्रेसनबाट ४० वटा सवारी साधन कारबाहीमा 


काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीको ‘स्वीप अप्रेसन’ बाट पछिल्लो  २४ घण्टामा नियम विपरीत गुड्ने ४० वटा सवारी साधनलाई कारबाही गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङका क्रममा ठुलो सङ्ख्यामा चालकहरू कारबाहीमा परेका हुन्। 

कास्की प्रहरीले जिल्लाका विभिन्न स्थानहरूमा हुन सक्ने आपराधिक घटना, सवारी दुर्घटना, चोरी लुटपाट तथा गुण्डागर्दी लगायतका आपराधिक गतिविधिहरू नियन्त्रण गर्न, लागू औषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्यको रोकथाम तथा अवैध वस्तुको ओसार पसार जस्ता कार्यलाई नियन्त्रण गर्न यो अभियान चलाएको छ। अप्रेसनका लागि गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ। 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका वडा नम्बर १७ दोबिल्लामा कुकुरसहित चेकजाँच गर्दा मापसे गरेर सवारी चलाउने २ जना र ट्राफिक नियम उल्लङ्घन गर्ने ८ जना गरी १० जनालाई कारबाही गरेको छ। बैदामकै अर्को टोलीले पोखरा–२३ र २४ स्थित घाँटीछिनामा मापसे गरेका ९ जना र अन्य नियम उल्लङ्घन गर्ने २ जना गरी ११ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ।

साथै, वडा प्रहरी कार्यालय बगरको टोलीले पोखरा–१६ अकलामा गरेको चेकिङका क्रममा लागूऔषध सेवन गरेर सवारी चलाउने १ जना चालक फेला परेका छन्। सोही स्थानबाट मापसे गरेका ३ जना र अन्य ट्राफिक नियम मिच्ने ४ जना गरी ८ जना कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको आफ्नै टोलीले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ भेडाबारीमा चलाएको चेकिङमा मापसे गर्ने ४ जना, स्वरूप परिवर्तन गरी सवारी चलाउने १ जना र अन्य नियम उल्लङ्घन गर्ने ६ जना गरी ११ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

Skip This