काठमाडौं – नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई प्रमुख छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडीए) बीच मोबाइल उद्योगको विकास तथा क्षेत्रले भोगिरहेका चुनौतीहरूको समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ।
आइतबार क्यान महासंघको खुसिबुस्थित केन्द्रीय कार्यालयमा दुवै संस्थाका उच्च नेतृत्वबीच ‘संस्थागत गठबन्धन छलफल’ सम्पन्न भएको हो। बैठकमा नेपालको मोबाइल क्षेत्रले सामना गरिरहेको नीतिगत अस्पष्टता, अनधिकृत च्यानलबाट भित्रिने मोबाइल (ग्रे मार्केट) तथा समग्र हार्डवेयर र मोबाइल इकोसिस्टमको नियमनका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।
क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारी र एनएमडीएका अध्यक्ष रघु त्रिपाठीले संयुक्त रूपमा नेपाली मोबाइल बजारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन राज्यस्तरमा प्रभावकारी पहल तथा नीतिगत दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकमा संस्थागत परिचय तथा दुवै कार्यसमितिबीच कार्यदिशा संरेखण, नीतिगत पैरवी, ग्रे मार्केट नियन्त्रण, मोबाइल इकोसिस्टमको नियमन तथा दीर्घकालीन सहकार्यका लागि रोडम्याप निर्माणलगायत विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
छलफलका क्रममा कार्यवाहक अध्यक्ष अधिकारीले मोबाइल तथा सूचना प्रविधि क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका विकृति तथा बेथितिको अन्त्यका लागि दुवै संस्थाको सहकार्य आवश्यक रहेको बताए। उनले अवैध आयातका कारण राज्यले राजस्व गुमाउनुका साथै वैधानिक व्यवसायीहरू प्रत्यक्ष प्रभावित भएको भन्दै त्यसविरुद्ध संयुक्त रूपमा पहल गरिने बताए।
त्यसैगरी, एनएमडीएका अध्यक्ष त्रिपाठीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को प्रभावकारी कार्यान्वयन र व्यावहारिक आयात नीति निर्माणका लागि क्यान महासंघसँगको सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले यस गठबन्धनले मोबाइल व्यवसाय क्षेत्रका साझा मुद्दालाई थप सशक्त रूपमा उठाउन सहयोग पुग्ने बताए।
बैठकमा क्यान महासंघका कार्यवाहक अध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा १५औँ कार्यसमितिका सदस्यहरू र एनएमडीएका अध्यक्ष, निवर्तमान अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। दुवै संस्थाले आगामी दिनमा मोबाइल तथा सूचना प्रविधि क्षेत्रका साझा चुनौतीहरूको समाधान, नीतिगत सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।








About Us
प्रतिक्रिया