नेप्सेमा सूचिकृत उत्पादनमूलक क्षेत्रका कम्पनीहरूको वित्तीय अवस्था: कुन नाफामा, कुन घाटामा ?


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत उत्पादनमूलक क्षेत्रअन्तर्गतका १४ कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका छन्। सूचीकृत १४ कम्पनीले चालु आर्थिक वर्ष ०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन्। सार्वजनिक विवरणअनुसार ७ कम्पनीले नाफा कमाएका छन् भने ३ कम्पनी घाटामा देखिएका छन्। बाँकी ४ कम्पनीको अवस्था भने स्थिर देखिन्छ।

नाफामा उल्लेख्य सुधार गर्ने कम्पनीहरू

यस अवधिमा सर्वोत्तम सिमेन्ट, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, बोटलर्स नेपाल (तराई), बोटलर्स नेपाल (बालाजु), सोनापुर मिनरल्स एण्ड आयल तथा श्रीनगर एग्रिटेकले उल्लेख्य सुधारसहित नाफा बढाएका छन्।

सर्वोत्तम सिमेन्टले गत आवको तेस्रो त्रैमाससम्म ६० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको सोही अवधिमा ९० करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको सञ्चालन आम्दानी ६ अर्ब ८१ करोड १४ लाख रुपैयाँबाट बढेर ७ अर्ब ७९ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी १६.१६ रुपैयाँबाट बढेर २३.१२ रुपैयाँ पुगेको छ।

त्यस्तै, हिमालयन डिस्टिलरीले गत आवको तेस्रो त्रैमाससम्म ७३ करोड ९२ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवको सोही अवधिमा ८५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी २६.७३ रुपैयाँबाट बढेर ३०.७८ रुपैयाँ पुगेको छ।

त्यस्तै, शिवम् सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ३९ करोड ७३ लाख रुपैयाँबाट घटेर ४ अर्ब ९५ करोड ४७ लाख रुपैयाँमा झरे पनि कम्पनीको खुद नाफा ४० करोड ५ लाख रुपैयाँबाट बढेर ६१ करोड ९२ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी पनि ९.७९ रुपैयाँबाट बढेर १४.७६ रुपैयाँ पुगेको छ। बोटलर्स नेपाल (तराई) ले गत आवको तेस्रो त्रैमाससम्म ८ करोड ७ लाख ५५ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आवमा २७ करोड ७० लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ९१ करोड ३६ लाख रुपैयाँबाट बढेर ५ अर्ब ५५ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको नाफा बढेसँगै प्रतिशेयर आम्दानी ३०५ रुपैयाँ पुगेको छ। बोटलर्स नेपाल (बालाजु) ले गत वर्षको १ करोड ५९ लाख ७९ हजार रुपैयाँ नाफालाई बढाएर चालु आवमा २१ करोड ९९ लाख रुपैयाँ पु¥याएको छ। कम्पनीको सञ्चालन आम्दानी ७ अर्ब ७ करोड ४४ लाख रुपैयाँबाट बढेर ७ अर्ब ६५ करोड ४१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १३३ रुपैयाँ रहेको छ।

त्यसैगरी, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५९ लाख रुपैयाँ घाटामा रहेकोमा चालु आवको सोही अवधिमा २२ करोड ६१ लाख रुपैयाँ नाफामा फर्किएको छ । कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ७६ करोड ४२ लाख रुपैयाँबाट बढेर ३ अर्ब ४ करोड १८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानीमा समेत सुधार देखिएको छ। गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २.४७ रुपैयाँले ऋणात्मक देखिएकोमा यस वर्षको सोही अवधिमा प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३५ पैसा कायम भएको छ।

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा आफ्नो वित्तीय स्थितिमा थप सुधार गर्दै २ करोड ५५ लाख खुद नाफा आर्जन गरेको छ। जबकि गत आवको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख खुद नाफा आर्जन गरेको छ। त्यस्तै, कम्पनीले सञ्चालन आम्दानी १ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा यस्तो आम्दानी ९४ करोड ३१ लाख रुपैयाँ थियो। त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी १.३३ पैसा कायम भएको छ।

अझै घाटामा रहेका कम्पनीहरू

उत्पादनमूलक क्षेत्रका तीन कम्पनी अझै घाटामा रहेका छन्। घाटामा रहेका तीन कम्पनीहरू मध्ये घोराही सिमेन्टले गत आवको तेस्रो त्रैमाससम्म ५५ करोड ४३ लाख रुपैयाँ घाटामा रहेकोमा चालु आवमा घाटा घटेर १५ करोड ८६ लाख रुपैयाँमा झरेको छ। यद्यपि कम्पनी अझै नाफामा फर्किन नसकेको तथ्यांकले देखाउँछ। कम्पनीको सञ्चालन आम्दानी भने ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँबाट बढेर ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको नाफा ऋणात्मक हुँदा प्रतिशेयर आम्दानी समेत ऋणात्मक देखिएको छ। यस वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ३.१६ रुपैयाँले ऋणात्मक देखिएको हो।

त्यस्तै, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले गत आवको तेस्रो त्रैमाससम्म ३ करोड ८४ लाख रुपैयाँ नोक्सानी बेहोरेकोमा चालु आवको सोही अवधिमा घाटा बढेर ४ करोड ९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन आम्दानी भने गत आवको तुलनामा ३ करोडले बढेर १३ करोड ९१ लाख रुपैयाँमा कायम भएको छ। जबकि गत आवको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा १० करोड ४८ लाख रुपैयाँ थियो। सञ्चालन आम्दानी बढे पनि कम्पनीको वित्तीय अवस्था अझै कमजोर देखिएको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी समेत ९.१० पैसाले ऋणात्मक देखिएको छ। गत आवको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२.८१ रुपैयाँले ऋणात्मक थियो।

सागर डिस्टिलरी लिमिटेडले ३ करोड ५३ लाख घाटा व्यहोरेको छ । गत वर्ष कम्पनीको यस्तो घाटा २ करोड ६१ लाख रहेको थियो । त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी समेत ६.४९ रुपैयाँ ऋणात्मक देखिएको छ। गत आवको सोही अवधिमा प्रतिशेयर आम्दानी १.७७ रुपैयाँले ऋणात्मक देखिएको छ।

अन्यको कस्तो छ वित्तीय अवस्था ?

उत्पादनमूलक क्षेत्र अन्तर्गतका ४ कम्पनीको वित्तीय अवस्था स्थिर देखिन्छ। पाल्पा सिमेन्टले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ। जबकि गत आवको सोही अवधिसम्म कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो। त्यस्तै, कम्पनीले आफ्नो व्यवसायबाट सो अवधिसम्म ३ अर्ब ४० करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत आवमा कम्पनीको यस्तो आम्दानी ४ अर्ब ११ करोड २० लाख रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर आम्दानी भने जम्मा २.४८ रुपैयाँ छ।

त्यस्तै, युनिलिभर नेपालले ४५ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न गरेको छ। गत आवको सोही अवधिमा ४८ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। त्यस्तै, कम्पनीको आयकर खर्च १० करोड ९७ लाख रुपैयाँ छ। गत आवमा १२ करोड ९७ लाख रुपैयाँ थियो। त्यस्तै, ४९५ रुपैयाँ प्रतिशेयर आम्दानी भएको कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ८७ करोड २७ लाख रुपैयाँ छ, जबकि गत आवको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ९६ करोड ६५ लाख थियो।

त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड कम्पनीले यस अवधिमा २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आवको सोही अवधिमा यस्तो नाफा ३२ करोड ४२ लाख रुपैयाँ थियो। त्यस्तै, उक्त अवधिमा कम्पनीको कुल आम्दानी ७ अर्ब ४६ करोड ४ लाख रुपैयाँ रहेको छ। कम्पनीको गत आवको सोही अवधिमा यस्तो आम्दानी ७ अर्ब ३९ करोड १७ लाख रुपैयाँ थियो। यससँगै, कम्पनीको प्रतिशेयर २०.४२ रुपैयाँ कायम भएको छ। कम्पनीको गत आवको सोही अवधिमा प्रतिशेयर आम्दानी १६.०८ रुपैयाँ थियो।

साथै, एसवाई प्यानल नेपाल लिमिटेडले सार्वजनिक गरेको तेस्रो त्रैमासमा वित्तीय विवरण अनुसार गत आवको तुलनामा कम्पनीको खुद नाफा सामान्य घटेको छ। कम्पनीले गत आवमा ३ करोड ६६ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष ३ करोड २ लाख रुपैयाँ नाफा कमाएको हो। त्यस्तै, यस वर्ष कम्पनीको सञ्चालन आम्दानी भने सामान्य बढेको छ। गत आवको तेस्रो त्रैमासमा ५१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा ५३ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ३.७५ रुपैयाँ छ।