हिमालको काखबाट राष्ट्रिय समृद्धितर्फ


मनाङ – लघु जलविद्युत्बाट उत्पादित विद्युत्मा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलोपटक १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको छ। मर्स्याङ्दी नदीको अथाह जलशक्तिलाई उपयोग गरी निर्माण गरिएको यस आयोजनाले देशको ऊर्जा उत्पादन, ऊर्जा सुरक्षा र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। 
    
निजी क्षेत्रबाट निर्माण भएका ठूला जलविद्युत् आयोजनामध्ये एक यस आयोजना मनाङको नासोँ गाउँपालिका–८ र ९ नम्बर क्षेत्रमा निर्माण गरिंदैछ। ‘रन अफ रिभर’ प्रणालीमा आधारित यो आयोजनाले नदीको पानी बाँधमार्फत संकलन गरी सुरुङबाट विद्युत्गृहसम्म पुर्‍याउने काम भइरहेको बुटवल पावर कम्पनीका निर्देशक प्रतीकमान प्रधानले जानकारी दिए। 

नेपालमा जलाशययुक्त आयोजनाको तुलनामा रन अफ रिभर आयोजना निर्माण लागत कम हुने, वातावरणीय असर तुलनात्मक रूपमा कम पर्ने तथा छिटो निर्माण गर्न सकिने भएकाले यस्ता आयोजनालाई प्राथमिकता दिइँदै आएको उनले बताए। 
    
यस आयोजनाको ग्रस ४३०.२० मिटर र हेडरेस टनेल ६.०७५ किलोमिटर रहेको निर्माण भएको बुटवल पावर कम्पनीले जनाएको छ। आयोजनामा २० प्रतिशत बिपिसी र चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहेको छ। आयोजनामा नेपाली साझेदार बिपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआइजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्तामा क्युवाइसी इन्टरनेसनलले संयुक्त रुपमा ८० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको छ।
    
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको विकासको लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच चार वर्षमा आयोजना विकास तथा निर्माण सम्पन्न गर्ने गरी २०७९ पुस ३ गते सम्झौता गरेका थिए। 

आयोजनाको कूल लागत रु ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ। आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिव रु एक अर्ब ३३ करोड स्वपुँजी लगानी गर्नेछ। आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८७५ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। 
    
मर्स्याङ्दी नदीमा यसअघि पनि विभिन्न जलविद्युत् आयोजना निर्माण भएका भएका छन्। जसबाट तनहुँअन्तर्गत ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजना, लमजुङअन्तर्गत ७० मेगावाटको मध्य मर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जस्ता आयोजनाले यस नदीको ऊर्जा सम्भावना प्रमाणित गरिसकेका छ। त्यही सम्भावनालाई थप उपयोग गर्दै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना विकास गरिएको छ। 
    
निर्माण कार्य प्रारम्भ भएपछि पहुँच मार्ग निर्माण, सुरुङ खन्ने, बाँध संरचना बनाउने, विद्युत्गृह निर्माण गर्ने तथा प्रसारण लाइन विस्तार गर्ने काम एकसाथ सञ्चालन भइरहेको निर्देशक प्रधानले बताए।