काठमाडौं – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। भारतको पाँचदिने औपचारिक भ्रमणमा रहेका सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच दिल्लीमा भेटवार्ता भएको हो।
भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री मोदीले नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन्। ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकताको साझेदार रहेको प्रस्ट पार्दै उनले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनामा आफ्नो पूर्ण ऐक्यबद्धता रहेको प्रतिक्रिया दिएका छन्।
‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ। एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पूर्ण ऐक्यबद्धता छ। हाम्रो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिकताको साझेदार हो र हाम्रा दुई देशबिचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउनका लागि नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौँ,’ मोदीले लेखेका छन्।
भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेशमन्त्री डा. एस जयशंकरसमेत उपस्थित थिए।






About Us
प्रतिक्रिया