सौराहामा ‘इसेवा ह्याकाथन २०२६’ सम्पन्न: डिजिटल र वातावरणीय दिगोपनाका नयाँ समाधानहरूको खोजी


चितवन- नेपालको प्रमुख भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आयोजना गरेको “इसेवा ह्याकाथन २०२६” सौराहामा भव्य रूपमा सम्पन्न भएको छ।

जेठ १५ गतेदेखि सुरु भएको यो आवासीय ह्याकाथन नयाँ प्रविधि, नवप्रवर्तन, सिर्जनशील सोच र वातावरणीय दिगोपनासँग सम्बन्धित डिजिटल समाधानहरू प्रस्तुत गर्दै आइतबार सकिएको हो। वन्यजन्तु तथा वातावरण संरक्षणमा क्रियाशील संस्था विश्व वन्यजन्तु कोष (WWF) नेपालको सहकार्यमा इसेवाले यस कार्यक्रमको आयोजना गरेको थियो।

देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवा प्रतिभाहरू सहभागी भएको यस ह्याकाथनको मुख्य उद्देश्य नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी र युवा उद्यमशीलताको प्रवर्द्धन गर्नु रहेको थियो। प्रतिस्पर्धामा उत्रिएका युवाहरूले फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण तथा वातावरणीय दिगोपनासँग सम्बन्धित नवीन डिजिटल समाधान र प्रोटोटाइपहरू प्रस्तुत गरेका थिए।

निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन टोलीहरू छानिएका छन्, जसमा आदित्य कुमार साह तेली र पूजा यादवको टोली ‘कन्फ्युजन म्याट्रिक्स’ प्रथम हुन सफल भयो। यसै गरी अभिनन्दन राजभण्डारी, एरबिन श्रेष्ठ, उत्सव दाहाल र सबिन न्यौपाने आबद्ध टोली ‘क्यास फ्लो’ द्वितीय तथा इन्द्र प्रसाद सापकोटा, समीप घिमिरे, सौगात अधिकारी र स्नेहा क्षेत्री सम्मिलित टोली ‘आर्याना’ ले तृतीय स्थान हासिल गर्‍यो। विजेता टोलीहरूले क्रमशः ३ लाख रूपैयाँ, २ लाख रूपैयाँ र १ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

समापन समारोहमा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले प्रतिस्पर्धीहरूको उत्साह र उनीहरूले प्रस्तुत गरेका नवप्रवर्तनात्मक समाधानहरूको खुलेर प्रशंसा गरे।

युवाहरूले देखाएका यस्ता डिजिटल समाधान र सिर्जनशीलताले नै आगामी दिनमा सुरक्षित र सुदृढ फिनटेक इकोसिस्टमको भविष्य तय गर्ने भन्दै इसेवाले डिजिटल अर्थतन्त्र र उद्यमशीलता प्रवर्द्धनका लागि भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।