भारतमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्धार


काठमाडौं – प्रहरीले भारतको कुशीनगर क्षेत्रमा लगेर बन्धक बनाइएका ४५३ नेपालीको उद्धार गरीले नेपाल ल्याइएको छ। रोजगारीको प्रलोभनमा परी भारतको कुशीनगर क्षेत्रमा बन्धक बनाइएका ४५३ नेपाली नागरिकलाई भारतस्थित नेपाली राजदूतावास एवं भारतीय प्रहरीको समन्वयमा उद्धार गरी बेलहिया नाकामार्फत नेपाल ल्याइ जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता दिनेश बहादुर कुँबरअनुसार, उनीहरू एजेन्ट मार्फत कुशीनगर क्षेत्रमा काम गर्न भनेर लग्ने गरिएको पाइएको छ। कुशीनगर क्षेत्रमा काम गर्ने पहिला गएका नेपालीहरूले यो कम्पनीमा यति काम गर्दा यति रकम पाइनछ भन्दै लाग्ने गरेको उनले बताए। 

उनीहरुले एक जना व्यक्तिबाट १० –१२ हजार रुपैयाँ लिएर पठाउने गरेको कुँबरले बैंकिङ्ग समाचारलाई बताए। उनका अनुसार नेपालीबाट ठगेको रकम भारतीयले लिने गरेको पाइएको छ। तर नेपाली पुर्‍याए बापतको रकम भने नेपालहरूले नै लिने गरेको उनले बताए। यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।