आगामी आवको बजेट सुशासनको मानक बन्नेछः अर्थमन्त्री


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताएका छन्। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै उनले आगामी आवको बजेटले नीति, कानून, संस्था, प्रक्रिया र नेतृत्वमा सुधार गर्दै सुशासन कायम गर्ने बताएका हुन्।

‘नीतिगत अनिर्णय, ढिलासुस्ती, संस्थागत कब्जा तथा राज्य स्रोतको दोहन अन्त्य गर्दै परिणाममुखी शासन प्रणाली निर्माण गर्नु अहिलेको आवश्यकता हो’, उनले भने। हाम्रो मुलुक बृहद आर्थिक सुधारको निर्णयक मोडमा उभिएको उल्लेख गर्दै उनले मुलुकको अर्थतन्त्रमा व्यापक सुधार र सुशासनमा बजेट केन्द्रित रहेको बताए।

उनका अनुसार आगामी आर्थिक वर्षको बजेट त उत्पादनमुखी अर्थतन्त्र, सुशासन र प्रविधिमैत्री विकासमा केन्द्रित रहनेछ। अर्थमन्त्री वाग्लेले वर्तमान सरकारलाई प्राप्त जनादेशलाई असाधारण जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप रूपान्तरण गर्ने दिशामा सरकार अघि बढेको बताए।

बजेटलाई केवल संवैधानिक औपचारिकता नभई नीतिगत रूपान्तरणको विश्वसनीय दस्तावेजका रूपमा प्रस्तुत गरिएको उहाँको भनाइ छ। बजेटमा सूचना तथा सञ्चार, कृत्रिम वौद्धिकता, वित्त, व्यापार, लगानी तथा विश्वभर फैलिएको नेपाली समुदायको सामूहिक सामथ्र्यलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको उनको भनाइ छ। सरकारले नयाँ प्रविधिको उपयोगमार्फत समन्वित आर्थिक वृद्धिको नयाँ संरचना निर्माण गर्ने लक्ष्य लिएको जनाएको उनले उल्लेख गरेका छन्।