काठमाडौं – प्रधानमन्त्रीका राजनीति सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले जेठ १२ गते निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका थिए। शाह नेतृत्वको कार्यदलले बोलाएको बैठकमा निजी क्षेत्रका विभिन्न छाता संगठनको प्रतिनिधिसहित झण्डै दुई दर्जन व्यवसायी पुगेका थिए। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको नेतृत्व छलफलमा पुगेको थियो।
सो बैठकमा निजी क्षेत्रले संविधान संशोधनका लागि सुझाव दिनेक्रममा सुझावभन्दा धेरै गुणासो पोखेका थिए। यस्तै, सरकारले गरिरहेको धरपकड लगायतका विषयमा व्यवसायीहरुले गुणासो राखेका थिए। सहभागिमध्ये व्यवसायी अर्बपति व्यवसायी उपेन्द्र महतोले संविधानमा सनातन धर्मको व्यवस्था राख्न सुझाएका थिए। यस्तै, अर्का व्यवसायी कुशकुमार जोशीले हिन्दु राज्य बनाउन सुझाव दिएका थिए।
‘यस्तै, सहभागिमध्येका एक मेडिकल व्यवसायीले राजतन्त्र फर्काउने माग गरेका थिए भने संगिता श्रेष्ठले भने आमाको नामबाट नागरिक्ता दिन सहजीकरण गर्नुपर्ने सुझाएकी थिइन्,’ एक व्यवसायीले बैंकिङ्ग समाचारसँगको कुराकानीमा भने। यस्तै, ती व्यवसायीका अनुसार व्यवसायीको कुरा सुनेपछि अन्तिममा सम्बोधन गर्दै असिम शाहले व्यवसायीलाई घुमाउरो शैलीमा चेतावनी दिएका थिए।
ती व्यवसायीका अनुसार शाहले भनेका थिए, ‘व्यवसायीले व्यवसाय सञ्चालनका क्रममा गलत गरेमा कसैलाई पनि छाडिँदैन।’ ‘तर, शाहको कार्यक्षेत्र संविधान संशोधन मात्रै भएकाले व्यवसायीले गलत गरे वा नगरे कारबाही गर्ने विषयमा बोल्नु उचित हो वा होइन उनैले जानुन्,’ उनले भने।






About Us
प्रतिक्रिया