चैतमा सुनसान सुन बजार बैशाखमा बौरियो:

भारतमा सुनमा लगानी नगर्न अपील हुँदा नेपालमा किन सहज ?


काठमाडौं – विश्व बजारमा भूराजनीतिक तनाव, अमेरिकी डलरको उतारचढाव र केन्द्रीय बैंकहरूले सुनको मौज्दात बढाएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। यसको सीधा असर नेपाली उपभोक्ता र आयातमा पनि देखिएको छ। चालू आर्थिक वर्ष ०८२/८३ को १० महिनामा सुनको आयातमा उतारचढाव देखिएको छ। भन्सार विभागको हालैको तथ्याङ्क अनुसार, चाडबाड र लगनको महिनामा नेपालीहरूले अर्बौँको सुन भित्र्याएका छन्। तर, पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय बजारमा मूल्यले नयाँ कीर्तिमान कायम गरेपछि आयात ह्वात्तै घटेको छ।

चैतमा सुनको आयात कमजोर भए पनि वैशाख महिनामा १०० किलो सुन आयात भएको छ। यसका लागि २ अर्ब २८ करोड रुपैयाँ खर्च भएको छ। नयाँ वर्षको सुरुवात र वैशाख महिनामा रहेका विवाहका लगनहरूका कारण बजारमा सुनको माग पुनः ब्युँतिएको देखिन्छ। चैतमा १४५ ग्राम (०.१४५ किलो) मात्र सुन आयात भएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सो समयमा विश्व बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको थियो। नेपाली बजारमा पनि सुनको मूल्य प्रतितोला झन्डै ३ लाख रुपैयाँको नजिक पुग्यो।

यति महँगो भएपछि उपभोक्ताले नयाँ सुन किन्न छाडेको व्यवसायी बताउँछन्। बजारमा पुरानै सुन फर्किएपछि बैंकहरूमा सुन थुप्रियो र चैत महिनामा विवाह जस्ता शुभ कार्य पनि नहुँदा पनि नयाँ सुन आयात लगभग ठप्प हुन पुग्यो। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमै कम्तीमा एक वर्ष सुन खरिद नगर्न अपिल गरिरहँदा नेपाल भने सुन खरिदमा उदार देखिएको छ।पश्चिम एसियामा चर्किएको भूराजनीतिक तनाव र इरान संकटका कारण विश्व बजारमा कच्चा तेल महँगो भएको छ। भारतले आफ्नो आवश्यकताको झन्डै ८८ प्रतिशत तेल र ९९ प्रतिशत सुन विदेशबाटै आयात गर्छ।

तेल अनिवार्य आवश्यकता हो, तर सुन विलासिताको वस्तु। भारतले सन् २०२५/२६ मा मात्रै झन्डै ७२ अर्ब अमेरिकी डलर सुन आयातमा खर्च गरेको छ। प्रधानमन्त्री मोदीको अपीलले सुन किन्नमा देशको डलर बाहिर पठाउनुको साटो त्यो पैसा तेल र मल आयातमा खर्च गर्ने उद्देश्य राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अर्थशास्त्रीहरू सुनलाई ‘डेड क्यापिटल’ (उत्पादनमूलक क्षेत्रमा नलाग्ने पूँजी) मान्छन्।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मात्र सुन आयात गर्ने अनुमति दिएको छ। सर्वसाधारण वा निजी व्यवसायीले सिधै विदेशबाट व्यापारिक रूपमा सुन भित्र्याउन पाउँदैनन्। यदि सरकारले वैधानिक रूपमा सुन आयात पूर्ण रूपमा ठप्प पार्‍यो भने, बजारमा विवाह र चाडबाडको माग पूरा गर्न तस्करीमार्फत अवैध सुन भित्रिन थाल्ने केन्द्रिय बैंकका अधिकारीहरू बताउँछन्। अवैध रूपमा सुन आउँदा नेपालको डलर हुन्डीमार्फत झनै बढी बाहिरिन्छ र सरकारले राजस्व पनि गुमाउने उनीहरूको विश्लेषण छ।

नेपाल र भारतबीचको खुल्ला सीमाका कारण भारतको सुन नीतिले नेपाललाई सीधा असर पार्छ। भारतले हालै आफ्नो व्यापार घाटा कम गर्न सुनको भन्सार महसुल बढाएर १५ प्रतिशत पुर्याएकाे। नेपालमा हाल सुनको भन्सार दर १० प्रतिशत मात्रै छ। भारतमाभन्दा नेपालमा भन्सार सस्तो हुँदा, नेपालको डलर खर्च गरेर वैध रूपमा आएको सुन खुल्ला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारततर्फ तस्करी हुने ठुलो जोखिम रहन्छ।

यसैकारण हालै नेपालका सुनचाँदी व्यवसायीहरूले सरकारलाई आगामी बजेटमार्फत नेपालको भन्सार दर पनि बढाएर कम्तीमा १६ प्रतिशत (भारतको भन्दा १ प्रतिशत बढी) पुर्‍याउन दबाब दिइरहेका छन्। भारतीय बजारको नीति र मूल्यसँग तालमेल नमिलाए नेपालको अर्थतन्त्रलाई धक्का लाग्ने भएकाले व्यवसायीहरू बताउँछन्।

सर्वाधिक माग असोज र कात्तिकमा
यो आवमा असोज महिनामा सबैभन्दा बढी ४०० किलो र कात्तिकमा ३०१ किलो सुन आयात भएको थियो। कात्तिक महिनामा मात्रै नेपालबाट ५ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी रकम सुनका लागि बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले आयात कोटा बढाएको र चाडबाडमा सुनको माग उच्च रहेकाले आयात बढेको हो। तर, मङ्सिरमा आयात खुम्चिएर मात्र १ किलोमा झर्‍यो। त्यसपछि माघ र फागुनमा पुनः आयात बढेर प्रतिमहिना १०० किलोभन्दा माथि पुगेको देखिन्छ। भाउ जतिसुकै आकासिए पनि चाडबाड र बिहेको लगन ९असोज, कात्तिक, पुस, वैशाख० मा नेपालीहरूले सुन किन्न छाडेका छैनन्।