बढ्दैछ सामाजिक सञ्जालमार्फत ठगी, तीन वर्षमा १७ हजारभन्दा बढी उजुरी


काठमाडौं – नेपाल प्रहरीकाे साइबर ब्युरोमा सामाजिक सञ्जालमार्फत हुने ठगीका उजुरी तीव्र रूपमा बढिरहेका छन्। पछिल्लो तीन आर्थिक वर्षमा फेसबुक, इन्स्टाग्राम, टिकटक, ह्वाट्सएपलगायत डिजिटल प्लेटफर्म प्रयोग गरेर गरिएको ठगीसम्बन्धी १७ हजार ३ सय २७ उजुरी दर्ता भएका छन्। प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४ हजार १५४, आर्थिक वर्ष २०८१/८२ मा ७ हजार ७ सय ४० र चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म ५ हजार ४ सय ३३ उजुरी परेका छन्। औसतमा साइबर अपराधसँग सम्बन्धित दैनिक ८० देखि ९० उजुरी आउने गरेको साइबर ब्युरोले जनाएको छ।

साइबर ब्युरोका अनुसार ठगीका नयाँ स्वरूपहरू रोजगारी दिलाइदिने, वैदेशिक अध्ययनको अवसर मिलाइदिने, सस्तो मूल्यमा सामान बिक्री गर्ने, बैंक खाता अपडेट गर्नुपर्ने, पुरस्कार परेको भन्दै झुक्क्याउनेजस्ता बहानामा बढिरहेका छन्। ठगी गर्ने समूहले नक्कली प्रोफाइल, फर्जी वेबसाइट तथा फिसिङ लिङ्क प्रयोग गरी सर्वसाधारणको व्यक्तिगत विवरण र बैंकिङ्ग जानकारी चोरी गर्ने गरेका छन्। ब्युरोका प्रवक्ता दिलीपकुमार गिरीका अनुसार प्रयोगकर्तालाई कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नामबाट मोबाइलमा सन्देश पठाउने, लिंक क्लिक गराउने र त्यसमार्फत बैंक खातामा अनधिकृत पहुँच पुर्याउने घटना बढ्दो छ। उनले भने, ‘फिसिङ लिङ्कमार्फत बैंक खाताबाट रकम चोरी हुने प्रवृत्ति पछिल्लो समय झनै बढेको छ।’

प्रहरीका तथ्यांक अनुसार फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, टेलिग्राम र टिकटकबाट हुने ठगीका उजुरी सबैभन्दा धेरै छन्। यसबाहेक बैंक खाता, कनेक्ट आईपीएस, इसेवा, खल्ती, इमेल, भाइबर, युट्युब तथा अन्य डिजिटल एपमार्फत पनि ठगीका घटना बढिरहेका छन्। नेपालमा सामाजिक सञ्जाल सञ्चालनका लागि व्यवस्थित नियामक संरचना नहुँदा समस्या जटिल बनेको प्रहरीको भनाइ छ। सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा औपचारिक सम्पर्क केन्द्र वा दर्ता प्रणाली स्थापना नगरेकाले साइबर अपराधको अनुसन्धान र पीडितलाई न्याय दिलाउन कठिन भइरहेको बताइएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा दर्ता नहुँदा विद्युतीय अपराधका मुद्दा टुंग्याउन चुनौती थपिएको बताएका छन्। उनका अनुसार फेक आइडी बनाएर गालीगलौज गर्ने, गलत सूचना फैलाउने, डिजिटल बैंकिङ्ग ठगी गर्ने तथा हिंसात्मक गतिविधिसम्मका अपराध सामाजिक सञ्जालको दुरुपयोगबाट बढिरहेका छन्।प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा अपरिचित व्यक्तिसँग व्यक्तिगत विवरण साझा नगर्न, अनलाइन कारोबार गर्दा सावधानी अपनाउन र कुनै लिंक वा एप प्रयोग गर्नुअघि आधिकारिकता पुष्टि गर्न आग्रह गर्दै आएको छ। साइबर ब्युरोले डिजिटल सचेतना बढाउन विभिन्न भिडियो सन्देश तथा जनचेतनामूलक सामग्री सार्वजनिक गर्दै आएको छ। प्रहरीका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ता बढ्दै जाँदा डिजिटल साक्षरता र नियमन दुवै आवश्यक देखिएको छ। सामाजिक सञ्जालमा खाता खोल्ने प्रक्रिया थप व्यवस्थित बनाउन सके ठगीका घटना कम गर्न सहयोग पुग्ने प्रहरीको निष्कर्ष छ।

अनलाइन ठगीमा कडा सजायको प्रस्ताव
सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट बढ्दो ठगी नियन्त्रणका लागि सरकारले कानुनी व्यवस्था कडा बनाउने तयारी गरेको छ । सरकारले संसद्मा दर्ता गरेको मुलुकी अपराध संहिता, २०७४ संशोधन विधेयकमा अनलाइन ठगीमा संलग्नलाई पाँच वर्षसम्म कैद, ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको प्रस्ताव गरिएको छ। विधेयकअनुसार इलेक्ट्रोनिक माध्यम प्रयोग गरी कसैको पासवर्ड, क्रेडिट कार्ड नम्बर, बैंक खाता विवरण वा अन्य संवेदनशील जानकारी चोरी गर्ने, निजी जीवनमा हस्तक्षेप गरी व्यक्तिगत डेटा संकलन गर्ने, सरकारी वा कुनै संस्थाको प्रतिनिधि भएको झूटो दाबी गर्दै पैसा माग्ने तथा पुरस्कार, उपहार वा लाभको प्रलोभन देखाएर ठगी गर्ने कार्यलाई स्पष्ट रूपमा अपराधको दायरामा ल्याइएको छ।

साइबर ब्युरोका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा सामाजिक सञ्जालमार्फत ठगीका १७ हजार ३२७ उजुरी दर्ता भएका छन्। प्लेटफर्मअनुसार फेसबुकबाट ५ हजार ४१७, ह्वाट्सएपबाट ४ हजार ३१४, टेलिग्रामबाट २ हजार ४३७, इन्स्टाग्रामबाट २ हजार ४२ र टिकटकबाट १ हजार २६ उजुरी परेका छन्। प्रहरीले पछिल्लो समय बैंक तथा डिजिटल वालेट कर्मचारी भएको बहाना बनाउने, बैंक तथा वालेट ह्याक गर्ने, लोटरी परेको वा उपहार आएको भन्दै झुक्याउने, वैदेशिक रोजगारी, अनलाइन सपिङ, क्रिप्टोकरेन्सी तथा बिनान्स लगानी, अनलाइन टिकट, कोठा खोजिदिने र भिडियो ब्ल्याकमेलिङमार्फत ठगीका घटना तीव्र बढेको जनाएको छ।

ब्युरोका अनुसार सामाजिक सञ्जाल ह्याक तथा नक्कली आईडीसम्बन्धी उजुरी आर्थिक वर्ष २०८०/८१ मा ८२०, २०८१/८२ मा ५५२ र चालु आवमा ७४८ पुगेका छन्। बैंक तथा वालेट अफिसबाट बोल्ने बहानामा हुने ठगी भने पछिल्ला दुई वर्षमा नयाँ रूपमा देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस्तो प्रकृतिका ३६६ र चालु आवमा २७४ उजुरी दर्ता भएका छन्। बैंक तथा वालेट ह्याकका घटना झन् तीव्र रूपमा बढेका छन्। आर्थिक वर्ष २०८०/८१ मा ३१९ र २०८१/८२ मा ३८९ उजुरी परेकोमा चालु आवमा मात्र १ हजार ९५ उजुरी परेका छन्। लोटरी, उपहार तथा पार्सलको प्रलोभनमा ठगीका उजुरी पनि बढ्दो क्रममा छन् । आर्थिक वर्ष २०८०/८१ मा ५५८, २०८१/८२ मा ५३६ र चालु आवमा ७५५ उजुरी दर्ता भएका छन्।

भिडियो सेयरिङ तथा ब्ल्याकमेलिङमार्फत ठगीका घटना पनि बढिरहेका छन्। यससम्बन्धी उजुरी आर्थिक वर्ष २०८०/८१ मा ५४, २०८१/८२ मा ४६ र चालु आवमा ६६ पुगेका छन्। अनलाइन जागिर दिलाइदिने बहानामा हुने ठगी भने नयाँ र तीव्र बढ्दो स्वरूपमा देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा यस्तो उजुरी नभए पनि २०८१/८२ मा २ हजार ५३ र चालु आवमा १ हजार ६५ उजुरी परेको छ। प्रहरीका अनुसार चालु आर्थिक वर्षदेखि एसएमसी एप र अनलाइन टिकटसम्बन्धी ठगी पनि नयाँ माध्यम बनेका छन्। एसएमसी एपमार्फत ३३३ र अनलाइन टिकटसम्बन्धी ४१ उजुरी दर्ता भएका छन्।

नेपाल प्रहरीले कुनै पनि आकर्षक अफर, पुरस्कार वा लगानीसम्बन्धी प्रस्तावमा तत्काल विश्वास नगर्न र सत्यतथ्य पुष्टि गरेर मात्र प्रतिक्रिया दिन आग्रह गरेको छ। सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रणका लागि निगरानी बढाइएको तथा संलग्न व्यक्तिमाथि अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।