काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौंका सुमना अर्याल, खोटाङका विकास सुनार, नवलपरासी पूर्वका बासुदेव श्रेष्ठ, पाँचथरका ४७ वर्षीय धन बहादुर योङहाङ र नवलपरासी पूर्वकी नौ माया आले मगर रहेका छन्।
पक्राउ मध्ये सुमनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, धन बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र नौ मायाले साइप्रस पठाइदिन्छु भन्दै ६ लाख ४ हजार ५ सय रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउमध्ये सुमना, विकास, बासुदेव र धन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ भने नौ मायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।






About Us
प्रतिक्रिया