नीति तथा कार्यक्रम

आयकरको सीमा घटाउने शक्तिशाली सरकारको उद्घोष


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले करको दर घटाउने उद्घोष गरेको छ। आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो उद्घोष गरेका हुन्। 

उनले सरकारले आगामी आर्थिक वर्षमा सरकारले करको भार घटाउँदै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको भार घटाउने घोषणा गरे। यस्तै, सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने, नगदरहित पारदर्शी प्रशासन निर्माण तथा राजश्व चुहावट मुक्त अर्थतन्त्र निर्माण गर्ने राष्ट्रपतिको उद्घोष छ।

यसबाहेक, प्रविधिमैत्री राजश्व सङ्कलन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजश्व प्रणालीलाई उद्यम मैत्री बनाउन समेत सरकारले लक्ष्य लिएको छ। यता १०० अर्ब डलरको अर्थतन्त्र निर्माणका लागि सरकारले विभिन्न देशसँग दोहोरो कर मुक्ति सम्झौता गर्ने योजना समेत बनाएको छ।

राष्ट्रपतिले पढ्ने नीति तथा कार्यक्रम बजेटको पूर्व सन्ध्यामा आउँछ। यही कारण, नीति तथा कार्यक्रमलाई सरकारको औपचारिक योजनाका रुपमा लिइन्छ। यसैले दुई तिहाइ बहुमतसहितको यो सरकारले करका दर हेरफेर गर्ने बुझिएको छ।