आईएमएफले नेपालको लागि इसिएफको सुविधा दुई महिना समय थप्यो


काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालसँगको आर्थिक सहयोग कार्यक्रम विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) को अवधि थप दुई महिनाका लागि बढाएको छ। अब यो कार्यक्रम आगामी जुलाई ११ सम्म कायम रहने भएको छ। आईएमएफको कार्यकारी बोर्डले नेपाल सरकारको आग्रहअनुसार कार्यक्रमको अवधि थप गर्ने प्रस्ताव स्वीकृत गरेको हो। कोषद्वारा जारी विज्ञप्तिअनुसार बाँकी समीक्षा प्रक्रिया पूरा गर्न तथा अन्तिम किस्ता वितरणका लागि समय थप गरिएको जनाइएको छ।

नेपालले यो कार्यक्रमअन्तर्गत कुल ३८ महिनाका लागि सहुलियतपूर्ण ऋण सुविधा पाएको थियो। उक्त सुविधा सन् २०२२ जनवरी १२ मा स्वीकृत भएको थियो। कार्यक्रमअन्तर्गत नेपालले करिब २८२.४२ मिलियन एसडीआर बराबरको सहायता पाउने व्यवस्था छ, जुन अमेरिकी डलरमा करिब ३८० देखि ३९० मिलियन डलर बराबर पर्न जान्छ।

आईएमएफको यो सहयोग एकमुष्ट रूपमा प्राप्त हुने होइन। नेपालले आर्थिक तथा संरचनात्मक सुधारका सर्त पूरा गर्दै जाँदा चरणबद्ध रूपमा रकम प्राप्त गर्ने व्यवस्था छ। यसका लागि कर प्रणाली सुधार, बैंकिङ्ग क्षेत्र सुधार, सार्वजनिक खर्च व्यवस्थापन तथा वित्तीय अनुशासन कायम गर्नुपर्ने सर्त राखिएको छ। ईसीएफ कार्यक्रमको अवधि यसअघि पनि पटक पटक थप हुँदै आएको छ। सुरुमा सन् २०२६ जनवरीसम्म कायम गरिएको कार्यक्रम पछि मे २०२६ सम्म बढाइएको थियो। अहिले फेरि जुलाई ११ सम्म समय थपिएको हो।

नेपालले सहुलियतपूर्ण ऋण सुविधा पाए पनि आईएमएफको यस्तो कार्यक्रम सुधारका सर्तसँग जोडिएको हुन्छ। त्यसैले सरकारले तय गरिएका आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन गर्न थप समय आवश्यक परेपछि अवधि विस्तार गरिएको बुझिएको छ।