वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बागलुङका सन्दीप थापा मगर, काठमाडौंका निर बहादुर कार्की, सर्लाहीका विजय कुमार यादव, काठमाडौंका चिरञ्जीवी अधिकारी र रामेछापका प्रवेश गुरुङ रहेका छन्। 

पक्राउमध्ये सन्दीपले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रुपैयाँ, निर बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट २ लाख २५ हजार रुपैयाँ, विजय कुमारले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २० हजार रुपैयाँ, चिरञ्जीवीले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रुपैयाँ र प्रवेशले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ। 

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्दीप र विजय कुमारलाई काठमाडौं महानगरपालिका– १२ बाट तथा निर बहादुरलाई काठमाडौं महानगरपालिका–१३ बाट सोमबार, चिरञ्जीवीलाई काठमाडौं महानगरपालिका– ११ बाट र प्रवेशलाई काठमाडौं महानगरपालिका– १२ बाट मंगलबार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी जनाएको छ।