ड्रेसकोडमा भोट माग्दै उद्योगी व्यवसायी : रंगले छुट्यायो महासंघका दुई समूह


काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य निर्वाचनमा उद्योगी–व्यवसायीले फरक–फरक ड्रेसकोड अपनाउँदै मत मागिरहेका छन्। मंगलबार भइरहेको निर्वाचनमा प्यानलअनुसार पहिरनको रंगमार्फतै समूह पहिचान गरिँदा चुनावी माहोल थप रोचक बनेको छ। महासंघको निर्वाचनमा यसपटक रंगकै आधारमा समूह पहिचान हुने दृश्य देखिँदा चुनावी प्रतिस्पर्धा थप आकर्षक बनेको छ।

भावी अध्यक्ष अञ्जन श्रेष्ठ समर्थित समूहले सेतो र निलो रंगको पहिरन अपनाएको छ भने उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह रातो रंगमा देखिएको छ। दुवै समूहबीच नेतृत्वका लागि कडा प्रतिस्पर्धा भइरहेको छ।

श्रेष्ठ निकट समूहले वरिष्ठ उपाध्यक्ष औपचारिक रूपमा घोषणा नगरे पनि वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे लाई अघि सारेको छ। सोही समूहबाट एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे उम्मेदवार छन् भने जिल्ला/नगर उपाध्यक्षतर्फ कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ मैदानमा छन्।

यता ढकाल समूहले जिल्ला तथा नगरतर्फ उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे लाई अघि सारेको छ। वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ छन् भने एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ प्रतिस्पर्धामा रहेकी छन्।