ठगी आरोपमा स्मार्ट टेलिकमका संचालक सर्वेश जोशी पक्राउ


काठमाडौं – स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा खुर्सानीटारबाट पक्राउ गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमति पत्र लिई सञ्चालन भएको ‘स्मार्ट टेलिकम’ ले नियमानुसार अनुमति पत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम यही वैशाख ३ गतेदेखि अनुमति पत्र स्वतः रद्द भएको थियो।

प्रहरीका अनुसार, उनीमाथि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघातको कसुर गरेको आरोप छ।