आठ लाख ४५ हजारको भन्सार छलीका सामान बरामद


नेपालगन्ज– बाँकेमा प्रहरीले भन्सार छली गरेर ल्याएका आठ लाख ४५ हजार रूपैयाँ बरावरका विभिन्न समान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले फलफूल, लत्ताकपडा, खाद्यान्न, कस्मेटिक समान र हार्डवेयरका सामान बरामद गरिएको जानकारी दिए। ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्ज पठाइएको उनले बताए। नेपालगन्ज उपमहानगरपालिका वडा नं १० बाट ती समान बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, हतियारसहित श्रव्यदृश्य सामग्री पोष्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ को अजय कुमाल र डुडुवा गाउँपालिका–४ का अनिल खटिकलाई सर्वसाधारणलाई आतङ्कित पर्ने काम गरेको भन्दै उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए। सो विषयमा पनि अनुसन्धान जारी छ।

त्यस्तै, अनुसन्धान प्रक्रियामा रहेका मुद्दा मिलाउने भन्दै प्रतिवादीका परिवारसँग रकम असुली गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले मुद्दा मिलाइदिने बहानामा रकम असुल गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका १२, चप्परगौडी निवासी करिब ४० वर्षीय काशीराम थारूलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक पातलीले थारूलाई विभिन्न मिति र समयमा विविध कसुरमा संलग्न व्यक्तिविरुद्ध अनुसन्धान प्रक्रियामा रहेका मुद्दा मिलाइदिने भन्दै प्रतिवादीका परिवारसँग रकम लिएको आरोपमा नियन्त्रणमा लिइएको जानकारी दिए। उनले पक्राउ परेका थारूविरुद्ध ‘आपराधिक लाभ लिन नहुने’ कसुरमा बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको बताए।

त्यसैगरी, प्रहरीले आज दुई जनालाई नेपालगन्जबाट लागू औषधसहित पक्राउ गरेको छ। भारतको बहराइच रुपैडिहा बाबागन्ज बस्ने मोहम्मद हामीद र सोही स्थान बस्ने २२ बी सकिनादेवी पथकरलाई प्रहरीले पक्राउ गरेको हो। केही लागू औषधसहित पक्राउ परेका उनीहरुसँगबाट प्रहरीले दुई थान मोबाइल र युपी ४० बिएच ४७०८ नं को मोटरसाइकल बरामद भएको प्रनाउ पातलीले बताए।