रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने, ‘तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं’


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरुलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् । आज काठमाडौंमा निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका प्रतिनिधिहरुसँग छलफल गर्दै सभापति लामिछानेले रास्वपा र वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गरेका हुन् ।

निजी क्षेत्रका प्रतिनिधिहरुको चासो सुनेपछि सभापति लामिछानेले निजीक्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै आफु व्यवसायीहरुसँग बस्न चाहेको बताएका हुन् । ‘तपाईंहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहँदैनौं’ उनले भने ।

सोही क्रममा सभापति लामिछानेले केही व्यवसायीहरु तथा पात्रहरुले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पारे । यसलाई बेलैमा नियन्त्रण गर्न आवश्यक रहेको र सरकारले अहिले यही गरेको बताए । ‘धरपकडका विषयमा म तपाईहरुलाई स्पष्ट भन्छु, हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौं । यसमा केही असहज हुन सक्छ’ उनले भने ।

पछिल्लो समय सम्पत्ति शुद्धीकरण, ठगी लगायतका कसुरमा केही उद्योगी व्यवसायी पक्राउ परेपछि निजी क्षेत्रले व्यवसायीमाथि धरपकड नगर्न सरकारसँग माग गर्दै आइरहेको छ । सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजीक्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको रोडम्याप रास्वपाले बनाइसकेको पनि जानकारी दिए ।

लामिछानेले समस्या सम्बोधनका लागि उद्योगी व्यवसायीहरुले आफ्नो घर र पार्टी कार्यालय धाउनैनपर्ने पनि स्पष्ट पारे । ‘तपाईंले मलाई, मेरो घरलाई र पार्टी कार्यालयलाई देख्नुपर्दैन टेक्नुपर्दैन । हामी तपाईंहरुको समस्या सहजै सम्बोधन गर्न चाहन्छौं । पहिला तपाईंहरुले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला । तर, हामी तपाईंहरुलाई फरक ढंगबाट देखिने गरी परिवर्तन महसुस गराउन चाहन्छौं’ उनले भने ।

सभापति लामिछानेले सरकारले कोही कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पारे । ‘देशका नागरिकलाई कोही कसैलाई पनि घरबार बिहीन बनाउँदैनौं । आज केही समस्या भएको छ, तर यसले सधैंका लागि समस्या समाधान गर्छ । खोलाको किनारामा जोखिमामा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छ । सबैको सुरक्षा र पुनस्र्थापनामा सरकार लाग्छ, कसैलाई पनि घरबार बिहीन बनाउँदैन’ उनले भने ।

त्यसअघि, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजीक्षेत्र शान्तिको क्षेत्र भएको बताउँदै निजी क्षत्रेलाई सहज रुपमा काम गर्न दिन आग्रह गरे । ‘हरेक आन्दोलनमा यस क्षेत्रमाथि प्रहार भइरहेको छ, निजीक्षेत्र हरेक आन्दोलनको मुख्य निसानामा परिरहेको छ । यसो हुनु हुँदैन भन्ने हाम्रो माग हो’ उनले भने ।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि सम्पत्ति शुद्धीकरणको दायरामा राख्ने जुन प्रयास गरिएको छ, त्यसले थप समस्या निम्त्याएको भन्दै रास्वपा नेतृत्वको ध्यानाकर्षण गराए ।

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढाउन आवश्यक रहेको उल्लेख गरे । आगामी बजेटमा यसबारेमा ध्यान दिन पनि उनले सुझाव दिए ।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले स्पष्ट बहुमतसहितको वर्तमान रास्वपा सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै विकास निर्माण र आर्थिक सुधारमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने बताए । निजीक्षेत्रलाई समेटेर जाने हो भने १०० अर्ब डलरको अर्थतन्त्र सम्भव रहेको पनि उनको भनाइ थियो ।

कार्यक्रममा उद्योगीहरु हरिभक्त शर्मा, चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ, आनन्दराज मुल्मी, सुरज वैद्य, पवन गोल्यान, अन्जनकुमार श्रेष्ठ, गौरव पाण्डे, जुना माथेमा, सशिकान्त अग्रवाल, बरुण चौधरी, लगायत उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।