काठमाडौं – अर्थ मन्त्रालयले लगानीको वातावरण सुधार गर्दै उत्पादनशील क्षेत्रमा कर्जा वृद्धि गर्नुपर्ने औल्याएको छ । मन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितीपत्र सार्वजनिक गर्दै पछिल्ला वर्षहरूमा कर्जा विस्तार सुस्ताएको बताएको हो ।
यस्तो अवस्थामा लगानीको वातावरण सुधार र समष्टिगत मागमा वृद्धि गरेर उत्पादनशील क्षेत्रतर्फ कर्जा वृद्धि गर्नु जरुरी रहेको मन्त्रालयले जनाएको छ । हाल निजी क्षेत्रतर्फ प्रवाहित कर्जा गत आर्थिक वर्ष ८.१ प्रतिशतले र चालु आर्थिक वर्षको ८ महिनामा ४.४ प्रतिशतले मात्र वृद्धि भई २०८२ फागुन मसान्तमा ५७ खर्ब ४१ अर्ब पुगेको छ।
कोभिडपश्चात् समष्टिगत माग कमजोर रहनुका साथै राजनैतिक अस्थिरता लगायतले व्यावसायिक मनोबल खस्केको, पुँजीगत खर्च सुस्त रहेको र उद्यमशीलता विकास हुन नसकेकोले कर्जा माग बढ्न नसकेको मन्त्रालयले उल्लेख गरेको छ । सहकारीमा आएको समस्या र घर जग्गा कारोबारमा आएको सुस्तताको कारणले पनि कर्जा विस्तार प्रभावित भएको मन्त्रालयको निचोड छ ।



About Us
प्रतिक्रिया