काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाल्पाका मिलन तिमल्सिना, काभ्रेकी सिर्जना श्रेष्ठ, नवलपरासी पूर्वका अकिन बस्ताकोटी, गोरखाकी निशा विक, लमजुङका राजेन्द्र अधिकारी र काठमाडौंका सागर श्रेष्ठ रहेका छन्।
पक्राउ मध्ये मिलनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, सिर्जनाले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, अकिनले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७५ हजार रूपैयाँ, निशाले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ, राजेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र सागरले सिङ्गापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रह्रीले उनीहरुलार्य पक्राउ गरेको छ।
प्रहरीले मिलन र सिर्जनालाई काठमाडौं महानगरपालिका–१२ बाट, अकिनलाई काठमाडौं महानगरपालिका–१६ बाट, निशालाई काठमाडौं महानगरपालिका–२ बाट, राजेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका–१ बाट र सागरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।



About Us
प्रतिक्रिया