प्रेमको नाटक गर्दै अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने बहानामा ठगी गर्ने एक जना पक्राउ


काठमाडौं – अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने बहानामा ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको फाकफोगथुम गाउँपालिका–६ घर भई हाल काठमाडौं बस्ने २७ वर्षीय सुशन थेगिम लिम्बु (सुजन लिम्बु) रहेका छन्।

उनले सामाजिक सञ्जाल टिकटकमा ‘रोहन राजपुत’ नामको नक्कली प्रोफाइल बनाएर नेपाली महिलाहरूसँग साथी बन्ने र प्रेमको नाटक गर्ने गरेकाे प्रहरीले जनाएको छ। 

उनले महिलालाई प्रेममा पारी युएस डलर, गरगहना लगायतका विभिन्न उपहार डिएचएल मार्फत पठाएको भन्दै पैसा पठाउन लगाई ठगी गरेका हुन्। उनले सामान बुझ्नको लागि कस्टम चार्ज, कर बापतको रकम भुक्तानी गर्नुपर्छ भनी व्हाट्सएप नम्बरबाट सम्पर्क गरी विभिन्न बैंक खातामा दुई लाख जम्मा गर्ने भन्दै रकम पठाउन लगाई ठगी गर्ने गरेका खुल्न आएको छ। 

साथै, उनको ९७००४३५३३१ नम्बरमा रहेको व्हाट्सएपबाट ४० भन्दा बढी महिलालाई सम्पर्क गरेको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीका टोलीले उनलाई नियन्त्रणमा लिई ठगी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको छ।