दीपक भट्टको नेटवर्कले ‘उत्कृष्ट करदाता’को सम्मान पाएका राजबहादुर शाह फसादमा 


काठमाडौं – आन्तरिक राजस्व विभागबाट ‘सर्वाधिक कर तिर्ने’ व्यक्तिको सम्मान पाएका व्यवसायी राजबहादुर शाह अहिले धितोपत्र बजार हेरफेर प्रकरणमा मुछिएका छन्। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ अनुसार दीपक भट्ट नेतृत्वको सञ्जालसँग जोडिएर शेयर मूल्य कृत्रिम रूपमा बढाउने योजनामा शाह संलग्न भएको आधार भेटिएको छ।

अनुसन्धानमा तानिएका अन्य व्यक्तिहरूमा भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी प्रमुख संदीप चाचान, काठमाडौंका शुभी अग्रवाल र ऋषिराज मोर पनि छन्। यी सबैले समन्वयमा काम गर्दै बजारलाई प्रभावित पार्ने गतिविधिमा संलग्न भएको प्रारम्भिक निष्कर्ष छ।

जाँचबुझअनुसार राजबहादुर शाहले २०८२ असार २३ देखि साउन ४ सम्मको छोटो अवधिमा मात्रै नेपाल रिइन्स्योरेन्स कम्पनीको १० लाख ५१ हजार २०४ कित्ता शेयर करिब १ अर्ब ४१ करोड ८० लाख रुपैयाँमा खरिद गरेका छन्। तर, यो ठुलो कारोबारमध्ये उनले ५२ करोड ५० लाख रुपैयाँ मात्र भुक्तानी गरेका छन्। बाँकी करिब ८९ करोड ७० लाख रुपैयाँ अझै तिर्न बाँकी रहेको देखिएको छ। यसले उनीलाई अग्रिम रकम नतिरी पनि ठुलो मात्रामा शेयर किन्ने सुविधा दिइएको प्रतिवेदनमा खुलेको छ।

व्यावसायिक रूपमा ख्याति र दायरा विस्तार गर्ने तयारीमा रहेका शाहलाई धितोपत्र अनुसन्धानले धक्का पुग्ने देखिएको छ।

पूरा रकम नतिरे पनि ती शेयर शाहको खातामा जम्मा गरिएको छ। यसले नियम विपरीत  कृत्रिम माग सिर्जना गरिएको आशंका बलियो बनाएको छ। शाहको कारोबार आफ्नै सम्बन्धित व्यक्ति र संस्थासँग बढी केन्द्रित देखिएको छ। उनले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी र शुभी अग्रवालसँग प्रत्यक्ष किनबेच गरेका छन्। उनले हिमालयन लाइफसँग १ लाख २५ हजारभन्दा बढी कित्ता र शुभी अग्रवालसँग ३ लाखभन्दा बढी कित्ता शेयर किनबेच गरेका छन्।

यही सञ्जालभित्र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले पनि दीपक भट्ट, शुभी अग्रवाल, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीहरूबीच ठुलो परिमाणमा शेयर किनबेच गरेको देखिन्छ। यसले सीमित समूहभित्रै घुमाइफिराइ कारोबार भएको देखिन्छ। शुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरले पनि दीपक भट्टकै शैलीमा अग्रिम रकम नतिरी शेयर कारोबार गरेका छन्। उनीहरूले पूरा भुक्तानी नगर्दै शेयर आफ्नो खातामा लिएका छन्, जसले बजारमा कृत्रिम माग सिर्जना गरी मूल्य वृद्धि गर्न सहयोग पुगेको देखिन्छ।

अनुसन्धानमा तानिएका अन्य व्यक्तिहरूमा भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी प्रमुख संदीप चाचान, काठमाडौंका शुभी अग्रवाल र ऋषिराज मोर पनि छन्।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार यस्तो गतिविधि गम्भीर कसुर मानिन्छ। दफा ९६ ले बजारमा कृत्रिम प्रभाव पार्ने कार्यलाई अपराध ठहर गर्छ भने दफा ९८ ले जालसाजीपूर्ण कारोबारलाई दण्डनीय बनाउँछ। यसै आधारमा प्रारम्भिक जाँचले उनीहरूबाट कसुर भएको हुन सक्ने निष्कर्ष निकालेको छ। यस प्रकरणमा भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी प्रमुख संदीप चाचानको भूमिकासमेत शङ्कास्पद देखिएको छ। उनले यस्तो कारोबार सहज बनाउन सहयोग गरेको देखिएकाले थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय पठाउन सिफारिस गरिएको छ।

कानुनी रूपमा दोष प्रमाणित भएमा दफा १०१ अनुसार ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ। साथै, यसबाट लगानीकर्तालाई भएको नोक्सानी पनि भरपाई गराउनुपर्ने हुन्छ। राजबहादुर शाह हालै बहुराष्ट्रिय कम्पनी कार्ल्सबर्गको स्वामित्व रहेको गोर्खा ब्रुअरीको १५ प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेका थिए। व्यावसायिक रूपमा ख्याति र दायरा विस्तार गर्ने तयारीमा रहेका शाहलाई धितोपत्र अनुसन्धानले धक्का पुग्ने देखिएको छ।