थाइल्यान्ड पठाउने भन्दै १६ लाख असुल्ने निर्दोष सापकोटा प्रहरीको फन्दामा 


काठमाडौं – काठमाडौंको पेप्सीकोलामा रहेको स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिका सञ्चालक निर्दोष सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। उनले फेसबुक, टिकटक र इन्स्टाग्राम मा स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिको पेजबाट वैदेशिक भ्रमणको लागि थाईल्याड जान सम्पर्क गर्नु भन्दै विज्ञापन राखी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले थाइल्यान्डमा जान भिषा, हवाई टिकट, होटल बुकिङ, गाईड समेतको सुविधा छ, सो भ्रमण प्याकेज १ हप्ताको हुन्छ भनी जानको लागि लाग्ने रकम स्काई वाल्क टुर्स एण्ड ट्राभल्सको नाममा रकम पठाउन लगाई  विभिन्न किसिमको बहानाहरु बनाई टार्ने झुलाउने गरेको थिए।

उनी आफैले नक्कली टिकट र भिसा बनाई झुक्यानमा पार्ने गरेका थिए। साथै, उनले  हालसम्ममा २६ जनाबाट १६ लाख ६०  हजार रकम ठगी गरेको खुल्न आएको छ। उनलाई पेप्सीकोलाबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।