काठमाडौं – परम्परागत रूपमा कानून कार्यान्वयनमै सीमित मानिने नेपाल प्रहरी पछिल्ला दिनमा फरक रूपमा देखिन थालेको छ। अहिले प्रहरी अपराधपछि कारबाही गर्ने निकाय मात्र होइन,अपराध हुनै नदिने गरी सिर्जनशील शैलीमा जनचेतना फैलाउने अभियानमा देखिन्छ। प्रविधिको तीव्र विस्तारसँगै अपराधको स्वरूप बदलिँदै जाँदा प्रहरीले पनि आफ्नो काम गर्ने तरिका परिवर्तन गरेको हो। सामाजिक सञ्जाल, भिडियो सामग्री र मनोरञ्जनात्मक प्रस्तुतिमार्फत नागरिकसम्म पुग्न थालेको हो।
सडक सुरक्षादेखि साइबर अपराधसम्म, प्रहरीले अब सन्देश दिने शैली नै फेरिएको छ। ट्राफिक नियम बुझाउन हास्यव्यङ्ग्य मिसिएका भिडियो, आकर्षक पोस्टर र सार्वजनिक प्रदर्शन प्रयोग भइरहेका छन्। यसले नियमबारे जानकारी दिन मात्रै होइन, नागरिकलाई सजिलै जोड्ने माध्यम बनेको छ। प्रहरीका अनुसार यस्तो रचनात्मक अभ्यासले नियम पालनामा सुधार आएको मात्र होइन, नागरिकसँगको सम्बन्ध पनि नजिकिएको छ।
देशभर गरी करिब ५०० जना कन्टेन्ट क्रिएटर प्रहरीले परिचालन गरेको जनाएको छ। उनीहरू सामाजिक सञ्जालका सामग्री बनाउनुका साथै डिजिटाइजेसनका अन्य काममा पनि संलग्न छन्।
डिजिटल युगमा लगभग सबै उमेर समूह इन्टरनेटसँग जोडिँदै गएपछि अपराधका तरिकाहरू पनि उस्तै गतिमा परिवर्तन भएका छन्। अहिलेका ठगहरूले सर्वसाधारणको रुचि, व्यवहार र आवश्यकता अध्ययन गरेर ठगी गर्ने शैली अपनाउने गरेका छन्। सामाजिक सञ्जाल, मोबाइल एप र अनलाइन प्लेटफर्ममार्फत आकर्षक अफर, रोजगारी वा लगानीका नाममा जालो फैलाउने क्रम बढ्दो छ। विशेषगरी युवापुस्तालाई लक्षित गरी अनलाइन सपिङ, क्रिप्टो, लगानी र वैदेशिक रोजगारीका नाममा ठगीका घटना बढिरहेका छन्।

यही चुनौतीलाई ध्यानमा राख्दै प्रहरीले पनि डिजिटल माध्यम रोजेको छ। अहिले डिजिटल प्लेटफर्मममा ठगहरू सक्रिय छन्। प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार प्रहरीले पर्व विशेष र समसामयिक विषयमा युवाहरूको शैलीमै भिडियो, प्रेस विज्ञप्ति र क्रिएटिभ कन्टेन्ट तयार गरेर सार्वजनिक गरिरहेको छ। ठगहरूले जस्तै लक्षित सन्देश प्रयोग गरेर नै सचेतना फैलाउने प्रयास भइरहेको उनले बताए।
अहिले प्रहरीका सामाजिक सञ्जाल प्लेटफर्महरूमा उल्लेख्य उपस्थिति देखिन्छ। नेपाल प्रहरीको फेसबुकमा करिब २१ लाख र युट्युबमा एक लाखभन्दा बढी फलोअर छन्। जसमा अधिकांश युवा वर्ग छन्। यही कारणले पनि प्रहरीले कन्टेन्ट क्रिएटरमार्फत आधुनिक र आकर्षक सामग्री उत्पादन गर्दै आएको छ। केन्द्रीय कार्यालयदेखि प्रदेश र जिल्लासम्म छुट्टाछुट्टै रूपमा सामाजिक सञ्जालमार्फत सचेतना अभियान सञ्चालन भइरहेको छ। यसरी हेर्दा, नेपाल प्रहरीको भूमिका विस्तार हुँदै गएको छ। अब प्रहरी अपराधपछि मात्रै सक्रिय हुने निकाय नरहने प्रहरी अधिकारीको भनाइ छ। अपराध हुनुअघि नै सचेतना फैलाएर रोकथाम गर्ने ‘क्रिएटिभ संस्था’का रूपमा अघि बढ्दैछ।
‘ओटिपी माग्ने ठग’देखि ‘अप्रिल फूल’सम्मः प्रहरीको क्रिएटिभ कन्टेन्ट
नेपाल प्रहरी ले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत चलाएको क्रिएटिभ अभियानले जनचेतना फैलाउने नयाँ ढोका खोलेको छ। केन्द्रीय कार्यालयबाट सञ्चालन हुने यस्ता कन्टेन्ट गतिविधि महानिरीक्षकको सचिवालयमार्फत समन्वय गरिन्छ, जहाँ सामाजिक सञ्जालका लागि मात्रै १५ जना कन्टेन्ट क्रिएटर छुट्याइएको प्रहरीका प्रवक्ता अविनारायण काफ्ले बताउँछन्। जिल्ला र इलाका स्तरबाट समेत सामग्री संकलन भई समयसापेक्ष रूपमा पोस्ट हुने गरेको छ।
देशभर गरी करिब ५०० जना कन्टेन्ट क्रिएटर प्रहरीले परिचालन गरेको जनाएको छ। उनीहरू सामाजिक सञ्जालका सामग्री बनाउनुका साथै डिजिटाइजेसनका अन्य काममा पनि संलग्न छन्। दान बहादुर कार्की ले नेतृत्व सम्हालेपछि यस्तो क्रिएटिभ कन्टेन्टलाई प्राथमिकतामा राखेर सार्वजनिक गर्न थालिएको हो। प्रहरीका अनुसार यस्ता अभियानले अनलाइन ठगीका घटनामा समेत कमी ल्याउन सहयोग पुगेको छ।
प्रहरीका अनुसार यस्ता क्रिएटिभ अभियानले सर्वसाधारणलाई ठगीका नयाँ तरिकाबारे सचेत गराउन, विभिन्न प्रलोभनमा नपर्न प्रेरित गर्न र अपराध हुनै नदिन महत्त्वपूर्ण भूमिका खेलेको छ।
प्रहरीले सचेतना दिन अपनाएको शैली झन् रोचक बन्दै गएको छ। प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’का विभिन्न दिनलाई नै सन्देश दिन प्रयोग गरिएको थियाे। ‘रोज डे’मा ‘माया गर्नेले मन माग्छ, तर साइबर ठगले तपाईँको ओटिपी र पासवर्ड माग्छ’ भन्दै साइबर सुरक्षामा सचेत गराइयो। ‘प्रमिस डे’मा ‘प्रमिस तोडे घरमा समस्या, ट्राफिक नियम ब्रेक गरे बाटोमै समस्या’ भन्दै ट्राफिक अनुशासनको सन्देश दिइयो। ‘चकलेट डे’मा ‘चकलेट पग्लिन सक्छ, तर डिजिटल अपराध मेटिँदैन’ भन्दै अनलाइन सावधानी अपनाउन आग्रह गरियो भने ‘हग डे’मा अनलाइन–अफलाइन कारोबारमा विश्वास गर्नु अघि सतर्क रहन सुझाइयो। ‘किस डे’मा ‘माया सम्मान हो, हिंसा होइन’ भन्ने सन्देशसहित पोस्टर सार्वजनिक गरिएको थियो।
यसैगरी, ‘अप्रिल फुल’को अवसरमा प्रहरीले क्यूआर कोडसहित ‘तपाईंविरुद्ध कुनै उजुरी परेको छ कि छैन, स्क्यान गरेर हेर्नुहोस्’ भन्ने सन्देश सार्वजनिक गर्याे। तर, स्क्यान गर्दा अप्रिल फूल सन्देश मात्र देखिने गरी बनाइएको उक्त पोस्टले सामाजिक सञ्जालमा व्यापक ध्यान तान्यो। प्रहरीका अनुसार यस्ता क्रिएटिभ अभियानले सर्वसाधारणलाई ठगीका नयाँ तरिकाबारे सचेत गराउन, विभिन्न प्रलोभनमा नपर्न प्रेरित गर्न र अपराध हुनै नदिन महत्त्वपूर्ण भूमिका खेलेको छ। नागरिक र प्रहरीको सहकार्यलाई निरन्तरता दिँदै अब सामाजिक सञ्जाललाई पनि सशक्त माध्यम बनाइएको छ।



About Us
प्रतिक्रिया