वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु ४५ लाख भन्दै ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– ३२ बस्ने दोलखा घर भएका २४ वर्षीय आङ मिङमार शेर्पा, काठमाडौं गोकर्णेश्वर नगरपालिका– ५ बस्ने काभ्रे घर भएकी ४२ वर्षीया सुनिता सिङतान (लामा) र काठमाडौं महानगरपालिका– ४ बस्ने सिन्धुली घर भएकी ३३ वर्षीया बाल कुमारी माझी रहेका छन्।

पक्राउमध्ये आङ मिङमारले लक्जम्बर्ग पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रुपैयाँ, सुनिताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७६ हजार रुपैयाँ र बाल कुमारीले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आङ मिङमारलाई काठमाडौं महानगरपालिका– २ बाट, सुनितालाई काठमाडौं महानगरपालिका– २८ बाट र बाल कुमारीलाई काठमाडौं महानगरपालिका– ४ बाट पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।