अमेरिकन डलर देखाई ठगी गर्ने दुई जना प्रहरीको फन्दामा 


काठमाडौं – भक्तपुर चाँगुनाराण–४ चाँगुनारायण मन्दिर नजिक एकान्त जंगलमा बोलाई अमेरिकन डलर देखाई सस्तोदरमा सट्टा गरिदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका पालसङ तामाङ र पदम लाल श्रेष्ठ रहेका छन्। 

प्रहरीका अनुसार उनीहरूले पीडितलाई प्रलोभनमा पारी १० लाख लिई आउन भनेको थिए। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको प्रहरीले जनाएको छ। 

त्यस्तै, तामाङमाथि विगतमा डलर देखाई ठगी गरेको कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरमा  मुद्दा दर्ता भएको देखिएको छ। साथै, श्रेष्ठको पनि डलर देखाई ठगी गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा, प्रहरी वृत्त बौद्धमा, प्रहरी वृत्त कालीमाटीमा र प्रहरी वृत्त बौद्धमा मुद्दा दर्ता भएको देखिएका प्रहरीले जनाएको छ।