अनलाइन बेटिङमा संलग्न २० जना प्रहरीको फन्दामा, भारतीय चेक बुक, एटिएम बरामद 


काठमाडौं – रुपन्देहीका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेको अवैध अनलाइन बेटिङ (जुवा) मा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई अनलाइन बेटिङमा प्रयोग हुने विभिन्न समानसहित पक्राउ गरेको छ। 

प्रहरीले तिलोत्तमा नगरपालिका वडा– ७ बाट प्रदिप गुप्ता, पवन कुमार सतिश, कुमार मनु कुमार सोनी, अमर कुमार, नरसिंह, असिस सिंह, सुदिप तो माझी र अबिशेष ठाकुरलाई पक्राउ गरेको छ। साथै, तिलोत्तमा– १५ कोटिहवाबाट  संदिप कुमार, एम डि हाकिम, सतेन्द्र सिंह, श्याम सुन्दर, दिपक पाण्डे, रियाज अहमद, प्रदिप कुमार , अक्लेश कुमार यादव, सिमा राना, तन्नु कुमारी र राखी झालाई पक्राउ गरेको हो। 

उनीहरूको साथबाट प्रहरीले  भारतीय विभिन्न बैंकहरुको चेक बुक २३ बन्डल, विभिन्न बैंकको एटिएम कार्डहरू ३ थान, नेपाली नगद ९९ हजार, विभिन्न कम्पकीको मोबाइलहरू २१ थान र विभिन्न कम्पनीको ल्यापटप ६थान बरामद गरेको छ। उनीहरूलाई पक्राउ गरी  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।